
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियानमा विशेष पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्रै यहाँको फोहोरको व्यवस्थापन गर्न नसक्ने बताए ।
फोहोर व्यवस्थापनका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्न, आवश्यक कानुनी प्रबन्ध मिलाउने काममा विशेष पहल गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरे । उनले सो अभियानमा साथ दिन काठमाडौं महानगरपालिकाका सबै वडाका जनप्रतिनिधिहरु र महानगरबासीलाई पनि अपिल गरे ।
‘काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको काममा मद्धत गर्नु हामी सबैको कर्तव्य हो । तर कतिपय कुरा दुईटा निकायले मात्रै चाहेर गर्न सकिने अवस्था छैन’ उनले भने, ‘कति स्रोत साधनको कुरा गर्न, कानुन, नियमको गाँठो फुकाउन सम्माननीय प्रधानमन्त्रीज्यूले नै पहलकदमी लिनुपर्नेछ ।’
महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै रुपमा राखि दिन र त्यहाँका जनप्रतिनिधिहरुले त्यसका लागि आवश्यक सूचना पुर्याउन सके काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान सफल हुने महामन्त्री थापाको भनाइ छ ।
प्रतिक्रिया 4