+
+

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १७:०४

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् ।

अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो । उनले भने, ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आफ्नो अडानमा दृढताका साथ उभिन्छौं।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए ।

उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।

उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए । अध्यक्ष नेपालले भने, ‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अब जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ ।’

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?