
२५ जेठ, काठमाडौ् । संयुक्त राष्ट्रसंघ (यूएन) को ७७औं महासभाका लागि एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ । बुधबार न्यूयोर्कमा बसेको महासभाको बैठकबाट नेपाल उपाध्यमा निर्वाचित भएको हो ।
बैठकबाट यूएनका लागि नियोग प्रमुख रहेका हंगेरिका साबा कोरोसी ७७औं महासभाका लागि अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि यूएनको ७६औं महासभामा माल्दिभसका अब्दुल्ला शाहिद अध्यक्ष थिए । महासभाले १३ सेप्टेम्बरदेखि एक वर्षका लागि आफ्नो जिम्मेवारी वहन गर्नेछ ।
नेपालसँगै विभिन्न क्षेत्रबाट १६ वटा देश महासभाका लागि उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित हुने मुलुकमा अफ्रिकाबाट बेनिन, बुरुन्डी, केन्या, मौरिटानीया, नाइजर, जिम्बाब्वे र एसिया प्रशान्त क्षेत्रबाट नेपालसँगै मलेसिया, ताजिकीस्तान, तुर्कमेनिस्तान छन् ।
त्यस्तै ल्याटिन अमेरिकाबाट चिली, एल साल्भाडोर, जमाइका र पूर्वी यूरोपबाट स्टोनीया तथा पश्चिमी यूरोप र अन्यबाट इजरायल तथा अस्ट्रेलीया उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यूएन महासभा संयुक्त राष्ट्र संघका विभिन्न ६ वटा मुख्य अंगहरूमध्ये एक हो भने १९३ वटै सदस्य राष्ट्रहरूले यसमा प्रतिनिधित्व गर्छन् । यून महासभाले राजनीति, अर्थतन्त्र, सांस्कृतिक र सामाजिक सहकार्यलगायतका क्षेत्रमा काम गर्छ ।
प्रतिक्रिया 4