२६ जेठ, काठमाडौं । कप्तान केएल राहुल घाइते भएपछि भारतले दक्षिण अफ्रिकासँगकाे टी–२० आई शृंखला रिसव पन्तको कप्तानीमा खेल्ने भएको छ ।
भारतीय कप्तान केएल राहुल र कुलदीप यादव घाइते भए पश्चात रिसवले घरेलु मैदानमा कप्तानी गर्ने अवसर पाएका हुन् । भारतले दक्षिण अफ्रिकासँगकाे पहिलो टी-२० आई बिहीबार बेलुकी दिल्लीमा खेल्दै छ ।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पहिलो पल्ट कप्तानी गर्ने मौका पाएका उनले आईपीएलमा दिल्लीका कप्तानी गरेका थिए ।
हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पाण्ड्याले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पहिलो पल्ट कप्तानी गर्दै गुजरात टाइटान्सलाई उपाधि जिताएका थिए ।
राइट ग्रोइन इन्जुरीका कारण राहुल टिमबाट बाहिरिएका हुन् । कुलदीपलाई भने अभ्यास खेलका क्रममा दाहिने हातमा चोट लागेको थियो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एक विज्ञप्ति जारी गर्दै राहुल र कुलदीप दुवै बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा स्वास्थ्य परीक्षण गर्ने बताएको छ ।
‘राष्ट्रिय टिमको कप्तानी गर्न पाउनु मेरो लागि राम्रो अनुभव हो । यो अवसर राम्रो परिस्थितिका बिच नआए पनि मैले खेलमा शतप्रतिशत दिनेछु’, पन्तले भने, ‘आईपीएलमा गरेको कप्तानीले मलाई यो जिम्मेवारी बहन गर्न सहयोग गर्न सक्छ । कप्तानको जिम्मेवारी आईपीएलमा होस् या राष्ट्रिय टिमको दुवै एकै खाले हुन् । म गल्तीबाट सिक्दै जाने मान्छे हुँ, त्यो कुराहरुले मलाई आगामी दिनमा पनि सहयोग गर्ने छ ।’
आगामी अक्टोबर नोभेम्बरमा हुने विश्वकप क्रिकेटलाई ध्यानमा राखेर खेल्ने उनले बताए ।
राहुलको इन्जुरीले जुलाई १ देखि ५ सम्म इङ्ल्यान्डमा हुने टेष्ट क्रिकेटमा पनि भारतलाई असर पार्नेछ । राहुलले चोटका कारण गत नोभेम्वरमा भएका दुई वटा घरेलु टेष्ट शृंखला गुमाएका थिए ।
प्रतिक्रिया 4