
कार्यालयमा खरिदार साब मुण्टो हल्लाउँछ
तर बोल्दैन
उ फुलेर बसेको छ
सर मेरो काम आज हुन्छ ?
हाकिम साब फाइलसम्म समाउँदैन
यो बाटो कहाँ जान्छ दाइ ?
हल्दार साब इशारा गर्छ तर बोल्दैन
मेरो बिरामीको अवस्था के छ ?
रोइकराइ गर्छिन् आमा डाक्टर साब मुख फोर्दैन
मेरो छोरी केमा कमजोर छिन् सर ?
पिलिक्क मतिर हेर्छ तर मास्टर साब उत्तर दिंदैन
सबै जना फुलेर बसेका छन्
जो जहाँ छन् त्यहीं फुलेका छन् ।।
त्यसपछि मैले
बगैंचामा फुलेको फूललाई सोधे
तँ फुल्छ्स कति सुन्दर देखिन्छस्
अरु फुल्छन् किन कुरुप देखिन्छन् ?
तँ फुल्छस् सबको पीडा भुलाउँछस्
अरु फुल्छन् पीडा दोब्बर बनाउँछन्
त फुल्छस् दुनियाँलाई लठ्ठ बनाउँछस्
अरु फुल्छन् दुनियाँ रुवाउँछन्
फुल्न तँ पनि फुल्छस्
फुल्न त अरु पनि फुल्छन् ।।
फूलले भन्छ
म ढकमक्क फुल्छु
अरु गजक्क फुल्छन्
म गर्वले फुल्छु
अरु घमण्डले फुल्छन्
म अन्तरआत्मादेखि फुल्छु
अरु बाह्य स्वरुपमा फुल्छन्
फुलेपछि एक दिन झर्नै पर्छ
त्यसको ज्ञान भएर म फुल्छु
अरु त्यो चेत नहुनाले फुल्छन्
त्यसैले त
फुल्ने जति सबै फूल हुँदैन
अनि
फुलेका जति सबैलाई शिरमा सजाइँदैन ।।
प्रतिक्रिया 4