
२६ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल आफूले माग गरेको थप विदा अस्वीकृत भए पनि कार्यालय हाजिर भएका छैनन् ।
सरकारले आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै उनले १८ वैशाखदेखि लागू हुने गरी एक महिना विदा लिएका थिए । र, आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
उनले लिएको एक महिना बिदा मंगलबारबाट सकिएको छ । विदा सकिएपछि उनले फेरि १० दिन विदा माग्दै आफ्ना एक सहयोगीमार्फत प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएका थिए ।
तर आईजीपी धिरजप्रताप सिंहले उनको विदा अस्वीकृत गरिदिएका छन् ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसीले ‘प्राकृतिक प्रकोपको आउनसक्ने समय भएको र विषम परिस्थिति रहेकाले’ महानिरीक्षक सिंहले विदा अस्वीकृत गरेको बताए ।
विदा अस्वीकृत भइसकेपछि पनि हाजिर नभएको विषयमा चाहिँ उनले प्रक्रिया अनुसार हुने बताए । ‘जागिर, खान्न, आउँदिन बस्छु भन्न पाइँदैन र ?’ उनले प्रश्न गर्दै अनलाइनखबरसँग भनेका छन् ।
प्रहरी नियमावलीमा अधिकृतहरुका लागि ‘विदा अधिकारको कुरा’ नभएको उल्लेख छ ।
‘कामको अनुकूल हेरी बिदा दिने अधिकारीले आफ्नो तजबिजबाट बिदा स्वीकृत अथवा अस्वीकृत गर्न सक्ने तथा आवश्यक परेमा बिदामा बसेका प्रहरी कर्मचारीलाई निजको स्वीकृत बिदा रद्द गरी बोलाइ काममा लगाउन सक्नेछ,’ नियमावलीमा भनिएको छ ।
तर पोखरेलले चाहिँ अदालती लडाइँ पार नलागुञ्जेल प्रहरी प्रधान कार्यालय हाजिर नहुने अडान लिएका छन् । पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए ।
सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पुजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।
पोखरेलले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्, तर उनको पक्षमा अन्तरिम आदेश भएन । अदालतले उनको पक्षमा आदेश नदिए पोखरेलले २० साउनदेखि अवकाश पाउनेछन् ।
प्रतिक्रिया 4