
काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’को प्रिमियर आयोजना गरिएको छ । सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा दयाहाङ राई, रामबाबु गुरुङ लगायतका सेलिब्रिटी उपस्थित रहे ।
ब्यांकटेस इन्टरटेनमेन्टले आयोजना गरेको प्रिमियरमा फिल्म हेरेका दर्शकले मीठो प्रतिक्रिया दिएका छन् । ‘कबड्डी ४’का अभिनेता राई र निर्देशक गुरुङले फिल्मले मन छोएको बताए । अन्य दर्शकले पनि फिल्मको निर्देशन, अभिनय र अन्य पक्ष सशक्त रहेको बताए ।
नेपाल र भारतसहित विश्वभर शुक्रबारदेखि एकसाथ रिलिज भएको फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । वितरक मनोज राठीले प्रिमियरमा प्राप्त समीक्षाले आफूलाई उत्साह मिलेको बताए । ‘वर्ड अफ माउथको कारण फिल्मले विस्तारै गति लिने अनुमान छ,’ उनले भने ।
किरणराज के निर्देशित फिल्ममा चार्ली नामक कुकुर, रक्षित सेट्टी, संगीता श्रींगेरी र राज सेट्टीको मुख्य अभिनय छ । यो फिल्म शुक्रबारदेखि मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत प्रदर्शनमा आएको छ ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4