
विज२९ जेठ, बुटवल । बुटवलको सेमलारमा बन्ने प्रस्ताव गरिएको २ अर्ब लागतको थोक कृषि बजारका लागि जग्गा दिन स्थानीय सहमत भएका छन् ।
जग्गा प्राप्तिमा सहमति जुटेसँगै उक्त आयोजनामा दातृ निकायलाई लगानी गर्ने बाटो खुलेको हो । यसअघि ५ वर्षदेखि कृषि बजार बनाउन कुरा अघि बढेपनि हालसम्म जग्गा प्राप्तिमा सहमति नहुँदा परियोजना अन्योलमा परेको थियो ।
नयाँ जनप्रतिनिधि आएपछि दातृ निकाय नेदरल्याण्ड सरकारका प्रतिनिधि र कृषि मन्त्रालयका सचिव बुटवल आएर आउँदो १६ पुससम्म जग्गा प्राप्तिको कानुनी प्रकृया पूरा नभए परियोजनाबाट हात झिक्ने चेतावनी दिएका थिए ।
बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ कर्साघाटमा संघीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रक्रिया अघि बढाएको हो ।
दातृ निकाय र कृषि मन्त्रालयको दबावपछि बुटवल-१५ का वडाध्यक्ष शिव रानाले सर्वदलीय–सर्वपक्षीय भेलाबाट परियोजनालाई कर्साघाटको उत्तर–पूर्व तर्फको १८.७३ हेक्टर जग्गा दिने सहमति जुटाएर निर्णय सहितको फाइल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेलाई बुझाएका छन् ।
‘विगतमा स्थानीय सरकारले जग्गा प्राप्तिको पहल नगर्दा प्रदेशकै गौरवको आयोजना गुम्ने जोखिम थियो, तर अहिले सहजरुपमा सर्वसम्मतले जग्गा दिन वडावासी सहमत भए,’ वडाध्यक्ष रानाले भने, ‘परियोजना कार्यान्वयनमा आउँदा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने सुझाव आएको छ ।’
स्थानीय र सामुदायिक वन समेतको सहमतिमा जग्गा दिने निर्णयको फाइल बुझेपछि नगर प्रमुख पाण्डेले यो आयोजना सफल भएपछि बुटवलको आर्थिक विकासमा कोशेढुंगा सावित हुने बताए ।
अब सम्बन्धित सरकारी निकायबाट जग्गा लिजमा लिने प्रकृया पूरा गरेर वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना प्रतिवेदन डीपीआरको काम अघि बढाइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए ।
यसले लुम्बिनी प्रदेश मात्रै भएर गण्डकी लुम्बिनी बागमती कर्णाली प्रदेशका कृषक समेत लाभान्वित हुने नगरप्रमुख पाण्डेले बताए । अ
कृषकले उत्पादन गरेका कृषि उपजसँगै पशु पशुपन्छी सहित एक लाख मेट्रिक टनको खाद्यबाली राख्न सकिने अत्याधुनिक प्रविधियुक्त गोदाम घरमा ५० हजार टनको तरकारी स्टोर गर्न सकिनेछ । तरकारी तथा फलफूलको गुणस्तर निर्धारण प्रयोगशालासहित प्रशोधन केन्द्र, बिउ भण्डार गृह निर्माण गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द्र प्रसाद शर्माले बताए । उक्त आयोजना राष्ट्रिय प्राथमिकताको आयोजना रहेको शर्माले बताए ।
कृषि मन्त्रालयको योजनाअनुसार कृषि बजारमा किसानले उत्पादन गरेका कृषि उपजसँगै पशुपन्छीसम्बन्धी सबै उत्पादनको खरिद बिक्री व्यवस्था मिलाइनेछ । बजारमा १ लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिनेछ ।
प्रतिक्रिया 4