३० जेठ, काठमाडौं । आफूभन्दा तल्लो वरीयताको युगाण्डालाई बोलाएर नेपालले जेठ पहिलो साता घरेलु मैदानमा ऐतिहासिक टी–२० शृंखला खेलेको थियो । पाँच खेलको शृंखला ३–२ ले गुमाएको नेपालले ब्याटिङ, फिल्डिङ र फिटनेसमा आफ्नो कमजोरी पहिचान गरेको छ ।
आसन्न एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारीमा नेपालले अहिले यिनै कमजोरीलाई सुधार्न ध्यान दिइरहेको छ । सन् २०१९ देखि राष्ट्रिय महिला टोलीको प्रशिक्षण सम्हालेका जगत टमाटाले एसियाका क्षेत्रका तल्लो वरीयताका टिम समावेश प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित टोली तयार पारिरहेका छन् ।
कोरोना महामारीका कारण लामो समय मैदान बाहिर बसेका महिला क्रिकेटरले डेढ वर्षमा अन्तर्राष्ट्रिय सिरिज खेलेका थिए । युगान्डा सिरिज पश्चात गल्ती र कमजोरी पत्ता लागेको र यसैमा सुधार गर्दै आएको टमाटाले बताए । युगान्डासँगको खेलको तुलनामा अहिले टिममा निकै सुधार भएको उनको दावी छ ।
‘दैनिक ५ घण्टा तयारी गरिरहेका छौं । फिटनेस र फिल्डिङको स्किलमा पनि काम गरिरहेका छौं । हामीसँग अहिले फिटनेस ट्रेनर पनि सँगै भएकाले युगान्डासँगको खेलमा भन्दा निकै सुधार भएको छ,’ प्रशिक्षक टमाटाले भने, ‘हाम्रो लक्ष्य भनेको सबै खेल जित्ने हो । अहिलेको टिम हेरेर मलाई त्यो सम्भव छ जस्तो लाग्छ ।’
कीर्तिपुर मैदानमा बिहान ४५ मिनेटदेखि एक घण्टा फिटनेसको प्रशिक्षण हुन्छ, त्यसको ३० मिनेटपछि स्किलमा प्रशिक्षण हुने गरेको छ । बिहान साढे ७ बजेदेखि नै केही खेलाडीले मैदानमा आएर प्रशिक्षण गरिरहेको टमाटा बताउँछन् ।

युगान्डासँगको शृंखलापछि एक दिनको मात्र आराम लिएर पुन बन्द प्रशिक्षणमा जुटेको महिला टिममा अहिले राम्रो तालमेल बनेको प्रशिक्षक जगत टमटाले बताए ।
१९ खेलाडी बन्द प्रशिक्षणमा छन् । यिनै खेलाडीबाट प्रशिक्षक टमटाले अन्तिम १५ खेलाडी छान्नु पर्ने हुन्छ । ‘नेपालमा सम्पन्न भएका सम्पूर्ण राष्ट्रियदेखि घरेलु प्रतियोगितामा राम्रो गरेका खेलाडी छानेर प्रशिक्षण दिइएको हो । यी खेलाडीबाट छनोट गरेर जान खासै अप्ठ्यारो नहोला,’ उनले भने ।
नेपालको बलिङ र ब्याटिङ सुधारिएको दाबी
स्वभाविक रुपमा नेपालको महिला टिमले ब्याटिङको तुलनामा बलिङतर्फ राम्रो प्रदर्शन गर्दै आएको छ । महत्वपूर्ण प्रतियोगिता भएकाले कुनै पनि पक्ष कमजोर रहन नदिन प्रशिक्षकले अहिले यू–१९ टिममा रहेकी मनिषा उपाध्यायलाई सिनियरको प्रशिक्षणमा राखेका छन् । उनले भर्खरै मलेसियामा सम्पन्न यू–१९ महिला विश्वकप एसिया छनोट खेलेर फर्केकी हुन् ।
‘हामी कुनै पनि जोखिम लिने अवस्थामा छैनौं, उसको प्रदर्शन पनि राम्रो छ । अहिले हामीसँग स्पिन सन्तुलनमा छ,’ तीव्र बलिङमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले थपे, ‘ब्याटरको पनि प्रदर्शन पनि सुधारिएको छ । समग्रमा भन्नुपर्दा हामीसँग भएको स्रोत र साधन अनुसार टिम सन्तुलित नै छ ।’
अहिले नेपालको टप अडरको ब्याटरको प्रदर्शन सुधारिएको प्रशिक्षक टमाटाको दाबी छ । ‘हामीले पावरप्लेमा कति रन लिने, कति विकेट दिने भन्ने रणनीति बनाएका छौं । एसीसीमा भएका एसोसियट राष्ट्रहरुको खेल हेरेर रणनीति बनाएका छौं,’ प्रशिक्षक टमटाले भने, ‘अहिले ब्याटिङलाई लिएर विश्वस्त हुने वातावरण बनेको छ । युगान्डा सिरिज पछिको यो २०/२२ दिनमा धेरै परिवर्तन भएको छ ।’
पछिल्लो पटक युगान्डासँग घरेलु मैदानमा सिरिज गुमाएपछि कप्तान रुविना क्षेत्रीले आफ्नो टिमको ब्याटिङ, फिल्डिङ र फिटनेस समस्याका अलावा नयाँ आएका पुस्ताले जिम्मेवारी बहन गर्न नसकेको बताएकी थिइन् ।
नयाँ पुस्तालाई कसरी प्रेरित गरिरहनुभएको छ त ? भन्ने प्रश्नमा रुविनाको जवाफ छ, ‘अहिले हामी लामो समयदेखि सँगै छौं । जसका कारण उनीहरुमा पनि परिपक्वता आएको छ । सबैमा हामीले गर्नुपर्छ भन्ने भावना बढेको छ ।’
नेपालको चुनौती के ?
असार ३ देखि ११ गतेसम्म मलेसियामा हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बी मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन् ।
प्रतियोगितामा नेपालको लागि बलियो प्रतिस्पर्धी हङकङ हो । समुह चरणको खेलमा हरेक टिमले चार खेल खेल्नेछन् । जसमा नेपाल रहेको समुह ‘बी’ मा भुटान, बहराइन, हङकङ, कुवेत छन् । समुह चरणका शीर्ष दुईले सेमिफाइनल खेल्नेछन् ।
मलेसियाको विकेट नै नेपालको बलियो पक्ष र चुनौती दुवै हुन सक्ने प्रशिक्षक टमटाले बताए । नेपालले दुईवटा क्रिकेट मैदानमा खेल्नेछ । नेपालका लागि यी दुवै मैदान फरक रहनेछन् । किनरारा एकेडेमी क्वालालम्पुर र युकेएम वाईएसडी क्रिकेट ओभल, बाङ्गी यी दुवै मैदानको विकेटको अवस्था फरक छ ।
नेपालका लागि किनरारा एकेडेमीमा रन बनाउन सजिलो हुन्छ भने युकेएममा ब्याटरले संघर्ष गर्नुपर्ने हुन्छ ।

एक महिनायता तयारी गरिरहेको महिला टिमले हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपालका लागि यस पटक जसरी भए पनि उपाधि जितेर फकर्ने कप्तान रुविना क्षेत्रीले बताइन् । ‘खेलेको यति लामो समय भइसक्यो हालसम्म एउटा पनि उपाधि जित्न सकेका छैनौं,’ उनले भनिन्, ‘हाम्रो फिटनेस, ब्याटिङ र फिल्डिङ सबै समस्या नै थियो, अहिले केही मात्रामा सुधारिएको छ ।’
नेपालको अर्को चुनौती भनेको, स्कोरबोर्डमा झिनो लक्ष्य हो । नेपालले १ सय रनको लक्ष्य पनि दिन नसक्नु अथवा लक्ष्य भेटाउन नसक्नु नेपालको चुनौती हो । तर अब अहिलेसम्म सबैकुरा विस्तारै सुधारिएको कप्तान रुविनाले भनिन्, ‘अब खेल्दा मलेसियाको पिच नै हाम्रो मुख्य चुनौती रहनेछ ।’ आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार ल्याउनुको साथै टिमलाई यसपटक जसरी पनि उपाधि दिलाउनु पर्ने चुनौती रहेको कप्तान क्षेत्री बताउँछिन् ।
तस्वीर र भिडियो : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4