
३० जेठ, काठमाडौं । निजामति कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झण्डै २ सय आवेदन रद्ध भएको छ ।
आवेदन रद्ध भएका अधिकांशले कीर्ते कागजात पेश गरेको सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय श्रोतले जनाएको छ ।
‘हाम्रा कर्मचारी साथीहरुले आफ्नो छोराछोरीलाई छात्रवृत्ति दिलाउन कीर्ते काम गरेको पाइयो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘करिब २ सय योग्यता नपुगेका आवेदकले कीर्ते कागजपत्र पेश गरेको पाएपछि हामीले छानबिन समिति गठन गरेर मात्रै छनौट गरेका हौं ।’
छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीकोे लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पुगेका र योग्यता पुगेका ६ सय ९९ जना छनौट भएको मन्त्रालयले जनाएको छ ।
सामान्य प्रशासन मन्त्रालयले जनशक्ति योजना तथा विकास महाशाखा प्रमुख उपसचिव हरि ज्ञवालीको संयोजकत्वमा गठन भएको छानबिन समितिले छात्रवृत्ति पाउनेहरुको छनोट गरेको हो ।
मन्त्रालयले अस्वीकृत आवेदकलाई पनि १५ दिनभित्र उजुरी वा गुनासो दर्ता गर्न समय दिएको छ ।
प्रतिक्रिया 4