
काठमाडौं । कुनैबेलाको चर्चित टेलिभिजन सिरियलमा आधारित फिल्म ‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय भएको छ । फिल्म असोज २८ मा रिलिज हुने निर्माता तथा अभिनेता सन्तोष पन्तले जानकारी दिए ।
‘हामीले दशैंलगत्तै र तिहारअघिलाई प्रदर्शन मितिको रुपमा तय गरेका छौं,’ पन्तले अनलाइनखबरलाई भने, ‘सकेसम्म नेपाल र विदेशमा एकसाथ प्रदर्शन गर्नेतर्फ हाम्रो जोड हुनेछ ।’
फिल्मले यसअघि २०७७ वैशाख १२ गते प्रदर्शन मिति तोकेको भए पनि कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी हुँदा प्रदर्शन अनिश्चित बनेको थियो । महामारी प्रभावित यो फिल्मको प्रदर्शन बल्ल तय गरिएको हो ।
निर्देशक साकार पन्तले हिजोआजका कुराका दर्शकसँग जोडिन आफूहरु आतुर रहेको बताए । उनका अनुसार ड्रामा र कमेडीको मिश्रण (ड्रामेडी) विधामा फिल्म बनेको छ । नेपाली समाजमा हुने दैनिक घटनाक्रमलाई फिल्ममा चित्रण गरिएको उनले बताए ।
फिल्ममा सन्तोषसहित रमा थपलियाको मुख्य भूमिका छ । केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त लगायतको पनि फिल्ममा अभिनय छ । असोजमा दीपकराज गिरीको नयाँ फिल्म, परदेशी २ र प्रेमगीत ३ समेत प्रदर्शन हुने तयारीमा छन् ।
प्रतिक्रिया 4