
३० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले पर्सा शाखालाई एक थान गाडी गाडी हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द राज कंडेललाई गाडी हस्तान्तरण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाईटीले स्थापनाको समयदेखि नै आपतकालीन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारलाई सघाउँदै आएको छ ।
रेडक्रसले मातहतका जिल्ला शाखा तथा उपशाखाहरु मार्फत एम्बुलेन्स सेवा, रक्तसञ्चार भ्यान, मानवीय सेवाका कार्यहरुका लागि ट्रक तथा कार्यालय प्रयोजनका लागि सवारी साधनहरु सञ्चालन गरिरहेको छ ।
कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम मार्फत विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा विकासका कार्यहरुमा जनतालाई मानवीय सेवा प्रदान गर्न शाखालाई गाडी हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।
सवारी प्राप्त भएपछि जिल्लामा रेडक्रस मार्फत हुने विभिन्न कार्यहरु गर्न सहज हुने, विपद उद्धारका कार्यमा प्रभावकारी सेवा प्रदान गर्न सकिने, रक्तसंचार सेवा लगायत विभिन्न सेवामुकल कार्यमा सहयोग पुग्ने रेडक्रस पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिए ।
देशका ७७ वटै जिल्ला शाखा मध्ये पर्सा शाखा पटक पटक उत्कृष्ट हुँदै आएको छ । समय-समयमा आउने विपद, कोरोना महामारी, खोप कार्यक्रम लगायत अन्य सबै कार्यमा रेडक्रसकर्मी एवं सदस्यहरुले सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया 4