
१ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको व्यवस्थापनमा नागरिकको दायित्व बुझाउन नसक्दा समस्या देखिएको बताएकी छन् ।
मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले शहरबासीले भान्साबाट निकालेको फोहोरको व्यवस्थापक उनीहरु आफैं हो भन्ने बुझाउन नसकेको बताएकी हुन् ।
‘तिमीले गरेको फोहोरको विसर्जन तिम्रै पैसाबाट गर्ने हो भनी हामीले बुझाउन सकेनौं । यसलाई बुझाउन सकेको भए प्रत्येक परिवारले कम फोहोर निकाल्ने कोसिस गर्ने थिए’, मन्त्री झाँक्रीले भनिन्,‘फोहोरलाई किचनबाटै कम निकाल्ने कार्य हुने थियो । फोहोरको बर्र्गीकरण भान्सामै भएको भए थोरै फोहोर आउने थियो । अहिले गइरहेकोमा ८० प्रतिशत फोहोर ल्याण्डफिल साइटमा जानै पर्ने थिएन ।’
नुवाकोटको सिसडोलमा २ वर्षका लागि प्रयोगमा ल्याइएको ल्याण्डफिल साइटमा १७ वर्षसम्म फोहोर खसाल्दा समस्या आएको उनले बताइन् । त्यस्तै यसअघि नै तयार भइसक्नुपर्ने बञ्चरे डाँडाको ल्याण्डफिल साइट पनि विभिन्न कारणले समयमा तयार नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको मन्त्री झाँक्रीले बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘बञ्चरेडाँडाको ल्याण्डफिल साइटलाई असार मसान्तसम्म सक्ने गरी काम अघि बढेको छ । वैज्ञानिक तरिकाले फोहोरको विर्सजन गर्ने गरी काम भइरहेको छ ।’
प्रतिक्रिया 4