
१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तिम खेल खेलेको ओमानमाथि शानदार जित निकाल्दा नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो ।
नेपाल ७ विकेटले विजयी भएको खेलमा बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे ।
लिग टु अन्तर्गत अमेरिका भ्रमणमा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले त्यस हारको बदला समेत लिएको छ । यस्तै लिग टु मा अन्तिम खेललाई सुखद बनाउने ओमानको योजना पनि नेपालले भताभुङ्ग पारिदियो ।
ओमानलाई हराएपछि नेपाल १५ खेलबाट १५ अंक जोड्दै एक स्थान सुधार गरेर पाँचौ स्थानमा उक्लेको छ ।
ओमानमाथि हावी करण
अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएपछि ओमान १९ बल अघि नै १६३ रनमा अलआउट भयो । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए ।
ओमान विरुद्धको पहिलो खेलमा पनि ५ विकटे लिएका करणले दोस्रो खेलमा सुरुवातदेखि नै विकेट झार्दै दबाबमा राखे । पहिलो स्पेलमा करणले कश्यपलाई २ रनमा बोल्ड गरे । यस्तै २ रन बनाएका सोएब खानलाई देव खनालबाट क्याचआउट गराए । त्यसपछि करणले सन्दीप गौड, नसिम खुशी र कलि मुल्लालाई आउट गरे ।
करणलाई अर्को छेउबाट कप्तान सन्दीपले राम्रो साथ दिए । सन्दीपले जतिन्दर सिंह र आएन खानलाई बोल्ड गरे । यस्तै सन्दीपले खावर अलीलाई एलबीडब्लू धरापमा पार्दा ओमानले ४९ रनमै ५ विकेट गुमाएको थियो ।
त्यसपछि कप्तान जिसन मक्सुद र सन्दीप गौडले ८३ रनको साझेदारी गरे । ४१औं ओभरमा दीपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडेका थिए । मक्सुदले सर्वाधिक ५२ र गौडले ४७ रन जोडे ।
ओमान विरुद्ध उत्कृष्ट बलिङ गर्दै आएका करणको अघिल्लो खेलको प्रदर्शन नेपाल १३ रनले पराजित भएपछि छायामा परेको थियो । तर यस पटक भने करण म्यान अफ दि म्याच नै बने ।
लिग टूमा ओमानसँग खेलेका ६ खेलमा २० विकेट लिइसकेका छन् । २०२० मा नेपालमै भएको शृंखलामा करणले ओमान विरुद्ध पहिलो खेलमा ४ विकेट लिएका थिए ।
२०२१ मा ओमानमै भएको शृंखलामा करणले ओमान विरुद्ध पहिलो खेलमा २ विकेट लिएका थिए । दोस्रो खेलमा करण र सन्दीपले समान ४ विकेट लिएका थिए । त्यस खेलमा नेपालले ओमानलाई १२१ रनले अलआउट गरेर ७ विकेटले खेल जितेको थियो ।
आसिफ र कुशलको कीर्तिमानी साझेदारी
अमेरिकामा ओमानविरुद्ध बलरहरुले स्टेज सेट गरेपछि ब्याटरहरुले पनि त्यही अनुसार प्रदर्शन गरे । ओपनरद्वय आसिफ र कुशले पहिलो विकेटका लागि कीर्तिमानी ११४ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो विकेटका लागि नेपालको यो पहिलो शतकीय साझेदारी हो ।
यसअघि यही जोडीले गत वर्ष ओमानमा अमेरिका विरुद्ध ६६ रनको साझेदारी गरेको थियो ।
कुशल र बसिफको शतकीय साझेदारी कुनै पनि विकेटका लागि भएको दोस्रो ठूलो साझेदारी हो । गत चैतमा त्रिवि क्रिकेट मैदानमा देव खनाल र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।
ओमानविरुद्ध आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्का मद्दतमा सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेलले ७५ बल खेल्दै ५ चौका प्रहार गरेर ५६ रन बनाए ।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका दुवै ओपनरले अर्धशतक बनाएको यो पहिलो पटक हो ।
चोटका कारण पहिलो खेल गुमाएका आसिफले लगातार दुई खेलमा अर्धशतक प्रहार गर्दै लयमा देखिएका छन् । यस्तै कुशलले पनि चोटका कारण पहिलो खेल गुमाएका थिए भने दोस्रो खेलमा ब्याटिङमा स्वभाविक प्रदर्शन देखाउन सकेनन् ।
२०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनी विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा सँगै डेब्यु गरेका आसिफ र कुशलको यो तेस्रो अर्धशतक हो । आसिफले ११ खेलमा ३३७ र कुशलले १४ खेलमा ३१८ रन बनाएका छन् ।
कुशल र आसिफको साझदारीपछि उपकप्तान रोहित पौडेलले २१ बलमा १ चौका र १ छक्का मद्दतमा अविजित २६ रन बनाए । विजयी चौका प्रहार गरेका दीपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे ।अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका देव खनालले १० रन जोडे ।
प्रतिक्रिया 4