
१ असार, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले प्रतिनिधिसभा विघटन कुनै पनि हिसाबले क्षम्य नभएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट आन्दोलन, संकट र अबको बाटो विषयक कार्यक्रममा बोल्दै उनले संविधानमा संसद विघटन गर्न नपाइने व्यवस्था गरेकाले संसद विघटन क्षम्य हुन नसक्ने बताएका हुन् ।
‘संसद २०१७ मा राजाले हानेर के भयो ? २०४८ पछि दरबार, माओवादी र भारतको तारो भएर अकालमा संसद मरेको थियो । संसद विघटन गर्न नपाइने भनेर संविधानमा लेख्यौं । संसद विघटन क्षम्य हुनै सक्दैन’, उनले भने, ‘बच्चाको टाउको लिखा पर्यो भनि पेट्रोल छर्केर जे जे गर्न पर्ने हो गरियो ।’
उनले अहिले कम्युनिस्ट पार्टीहरु आफ्नै कारणले खुम्चिनुपरेको पनि बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन कम्युनिस्ट पार्टी एक ठाउँमा रहेका भए स्थानीय ५७५ पालिकामा जित निकाल्ने उनले दाबी गरे ।
‘५७५ सिट जित्थ्यौं । ५७५ सिट जितेको पार्टीले आउँदो मंसिरको निर्वाचन कसरी प्रतिक्षा गरेको हुने थियो ? अहिले हामी चुनाव भन्ने वित्तिकै के हो/के हो भन्ने ठाउँमा छौं’ उनले भने ।
तत्कालिन नेकपाबाट विभजित तीन दलले पाएको सीट जोड्दा पनि कांग्रेसको भन्दा बढी मत भएको उनले सुनाए । सबैको जोड्दा बढी सिट हुने भए पनि कम्युनिस्टहरु त्रसितकै अवस्थामा रहेको बताए ।
‘१२२ वाला (माओवादी केन्द्र) शेरबहादुर देउवाको डोली बोकेर थाकेको छैन’ भूसालले भने, ‘चुनावअघि यसो हेर्यौं हामी जित्छौं भन्यौं । चुनावको अलि अलि नतिजा आउन थालेपछि अन्तर्घात भयो भन्यौं । त्यसपछि धाँधली भएर यस्तो भएको भन्यौं ।’
एमालेले सारा मानिसहरुलाई झुठ बोलेको भन्दै नेता भूसालले माथि झगडा गरेका कारणले परिणाम राम्रो ननिस्केको भनेर सत्य बोल्न नसकेको उनको भनाइ छ । ‘वामपन्थी मोडेल दिन सक्थ्यौं, हामीले गुमायौं । यस्तो नुन खाएको कुखुरा जस्तो हुनुपर्ने थिएन’ भूसालले भने।
प्रतिक्रिया 4