
२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
काम छलेको, समय मै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।
महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारीमाथि छड्के जाँच गर्न समेत सुरु गरिसकेका छन् । वडा कार्यालयदेखि विभागसम्म गरेको छड्केमा हालसम्म ४ जना कर्मचारी परिसकेको महानगरका एक कर्मचारीले जानकारी दिएका छन् ।
‘ती ४ जना कर्मचारीलाई स्पष्टिकरण सोधिसकेको छ । वडा वडाका कर्मचारीलाई कुनै पनि बेला चेकिङ आउन सक्ने भन्दै अलर्ट रहेर काम गर्न निर्देशन दिइएको छ ।’ उनले भने ।
सीसी क्यामेरा र हाजिर अनुसार तलब
काठमाडौं महानगरपालिकाले अब हाजिर अनुसार मात्रै तलब वितरण गर्ने भएको छ । बिहीबार महानगरको प्रशासन विभाग प्रमुख महेश काफ्लेले एक सूचना जारी गर्दै काठमाडांै महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने जानकारी गराइसकेका छन् ।
मातहतका सबै विभाग र वडालाई महानगरपालिकाले पठाएको सूचनामा भनिएको छ, ‘चैत मसान्तमा महानगरपालिकाका वेबसाइटमा गरिएको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी वेबसाइटमा नदेखिएकाले के–कति कारणले हाजिर नभएको र आफ्नो वडा÷विभागमा कार्यरत कर्मचारीहरुको विवरण प्रशासन विभागको मेलमा नपठाएमा असार महिनाको तलब नबन्ने छ ।’
काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा राख्न सुरु गरेको छ । महानगरका निर्देशक नवराज थापाका अनुसार महानगरको सबै विभाग र नगद कारोबार हुने कार्यालय स्थानमा सीसी क्यामेरा राख्न थालिएको हो ।
यस्तै रत्नपार्क, बालाजुमा रहेको राजश्व काउन्टरमा पनि सीसी क्यामेरा राख्न सुरु भइसकेको थापाले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको १४ वटा विभाग छन् । बबरमहलमा ५ वटा विभाग, ताहाचालमा २ वटा विभाग, टेकुमा २ वटा विभाग, राष्ट्रिय सभामा एक विभाग र बाँकी सुन्धारस्थित महानगरको कार्यालयमा रहेको छ । निर्देशक थापाका अनुसार सबै विभागमा सीसी क्यामेरा जोड्ने काम केहि दिनभित्रै सकिने छ ।
काठमाडौैं महानगरमा २ हजार ५ सय कर्मचारीको दरबन्दी भएता पनि हाल १ हजार ८ सय कर्मचारी कार्यरत छन् ।
बालेनले यसअघि नै महानगरमा रहेका कर्मचारीहरुले सवारी मर्मत गर्दा राजश्व चुहावट गर्ने भन्दै राष्ट्रिय आविष्कार केन्द्र मार्फत सवारी मर्मत गर्न जिम्मा दिने तयारी गरेका छन् ।
प्रतिक्रिया 4