
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज हुने यो एक मात्र फिल्म हो ।
कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ ।
दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ । कोरोना संक्रमणको त्रास, पूर्व माओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्मले चित्रण गर्छ ।
सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलार्ई पनि फिल्ममा चित्रण गरिएको छ । पशुपति प्रसाद, आमाजस्ता रुचाइएका फिल्मलाई निर्देशन गरेका खनालको यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ ।
‘कबड्डी ४’ले घरेलु र डायस्पोरा बक्स अफिसमा दबदबा कायम गरिरहँदा रिलिज भएको फिल्म चिसो मान्छेको व्यावसायिक भविष्य यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।
शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्म मध्यपूर्वमा ६ जुलाई र युरोपमा २५ जुनमा प्रदर्शन हुँदैछ ।
दर्शकसँग फिल्म हेर्न स्वस्तिमा हलमा

फिल्म रिलिज भएसँगै स्वस्तिमा र अर्पणको हल दौडाहा सुरु भएको छ । उनीहरु हल–हलमा पुगेर दर्शकसँगै फिल्म हेर्ने र प्रतिक्रिया बुझ्ने काम गरिरहेका छन् ।
शुक्रबार बिहान स्वस्तिमा र अर्पणसहितको टोली नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा पुगेको थियो । ‘राम्रो प्रतिक्रियाले उत्साहित छु,’ स्वस्तिमाले अनलाइनखबरसँग भनिन्, ‘आज दिउँसोभर हल भिजिट गर्ने कार्यक्रम छ ।’ वान सिनेमाजमा बिहान साढे आठ बजे ७० प्रतिशत अकुपेन्सी थियो ।
देशभर १०० हलबाट फिल्म रिलिज भएको छ ।
प्रतिक्रिया 4