
काठमाडौं । मान्छे मान्छे एउटै चित्त,
फेरि किन विभेद विचित्र
सधैं किन विभेद विचित्र
शासन फेरिए, नियम फेरिए
फेरिए कैयौं राजा
रैतीको सधैं दरिद्र बास,
त्यो झुटो सत्य कहाँ छ ?
प्रस्तुत पंक्तिहरु फिल्म ‘प्रकाश’को गीत ‘मान्छे मान्छे’मा समावेश छन् । अशोक शेरचनद्वारा लिखित गीतले दशक लामो सशक्त द्वन्द्वको औचित्यमाथि प्रश्न गर्छ ।
परिवर्तन ल्याउन हतियार उठाएर शान्ति प्रक्रियामा आएको तत्कालीन विद्रोही माओवादीले नागरिकको एजेन्डा बिर्सिएको भन्दै गीतमा पार्टी र यसको नेतृत्वलाई कटाक्ष गरिएको छ ।
एलिस कार्कीले संगीत गरेको गीतमा सत्यराज आचार्यको स्वर छ । चलअचल दृश्य समावेश गीतको केन्द्रविन्दुमा वर्गीय द्वन्द्वलाई प्रस्तुत गरिएको छ । व्यवस्था परिवर्तन भए पनि समस्या उस्तै रहेको भन्दै गीतमा असन्तुष्टि पोखिएको छ ।
भदौ १० गते रिलिज हुने तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा प्रदीप खड्काले अभिनय गरेका छन् । सशस्त्र द्वन्द्वको परिवेशमा जुम्लाको एक विपन्न युवकले शिक्षकको जागिर खाएर सपना पूरा गर्न गरेको संघर्षलाई फिल्मले चित्रण गर्छ ।
‘प्रकाश’मार्फत वर्गीय विभेदलाई चित्रण गरेका निर्देशन दिनेश राउतले यसअघि ‘प्रसाद’मा जातीय विभेदको मुद्दालाई उठाएका थिए ।
फिल्ममा प्रदीपसहित दीया मास्के, रेणु योगी र प्रकाश घिमिरेको मुख्य भूमिका छ । बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत छ ।
प्रतिक्रिया 4