
४ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनलाई विशेष जोड दिइएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार आयोजना गरेको प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको र नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको बताए ।
‘देशका सात प्रदेशमध्ये कर्णालीले चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको छ, मुख्य मन्त्रालयमा रहने डल्लो बजेट सम्बन्धित मन्त्रालयमा पठाएका छौं’ मुख्यमन्त्री शाहीले भने, ‘बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनलाई विशेष जोड दिएका छौं ।’
पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको बारेमा सचेतना वृद्धि गर्न सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी नै जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको सुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह समेत गरे ।
उनले नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै, लगानीकर्ता, बैंकर र व्यवसायीले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएको समेत बताए ।
प्रतिक्रिया 4