
५ असार, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थी भर्ना गर्न थालिएको छ । कक्षा तीनसम्म रहेको विद्यालयमा जेठसम्म अढाई वर्षीय सिमरन सोमै मात्रै बालकक्षामा अध्ययनरत थिए ।
अहिले वडाअध्यक्ष जमशेर मियाँको सक्रियतामा विद्यार्थी भर्ना गर्न सुरु गरिएको छ । २ असारमा बालकक्षामा ९ जना र कक्षा १ मा तीन जना विद्यार्थी भर्ना गरिएकोमा कक्षा एकमा थप दुई जना भर्ना भएर १५ जना पुगेका छन् ।
कक्षा तीनसम्म रहेको विद्यालय हाललाई एक कक्षामा सिमित गरेर विद्यालय सञ्चालन गर्ने विद्यालय, विद्यालय व्यवस्थापन समिति र वडाले सहमति गरेर विद्यार्थी भर्ना सुरु गरेको विद्यालय प्रधानाध्यापक हरिबहादुर खड्काले जानकारी दिए ।
दुर्गा आधारभुत विद्यालय नजिकै रहेको विद्यालय बराहनेटा विद्यालयमा मर्ज हुने र शिक्षकहरुलाई पनि विद्यालय रोज्न लगाएपछि विद्यार्थी अन्य विद्यालय गएको प्रधानाध्यापक खड्काको दाबी छ । तर, समायोजन प्रकृयामा गइनसकेकोले विद्यार्थी भयो भने पुन सञ्चालन गर्न सकिने सम्भावना रहने नगरपालिकाको शिक्षा शाखाले जानकारी गराएपछि विद्यार्थी भर्ना शुरु गरिएको वडाअध्यक्ष जमशेर मियाँले बताए ।
वडाअध्यक्ष मियाँले भने ‘शिक्षा समितिको बैठक बस्न नसकेर मर्जको लागि प्रकृयामा गएको रहेनछ । त्यसैले अब २०/२५ जना विद्यार्थी भर्ना गर्न सकियो भने विद्यालय मर्ज हुँदैन भन्ने थाहा पाएर भएको विद्यालयलाई किन बन्द गर्ने भनेर विद्यालय भर्ना सुरु गरेका हौं ।’
विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० ले विद्यालयका रुपमा सञ्चालन हुन नसक्ने विद्यालयलाई नजिकको विद्यालयसँग गाभी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ ।
दुई वा सो भन्दा बढी विद्यालयको परीसर एक आपसमा जोडिएको, दुई वा सो भन्दा बढी विद्यालयबीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको, नजिकमा रहेका दुई वा सो भन्दा बढी विद्यालयहरु मध्ये एउटा वा सबैमा विद्यार्थी संख्या पहाडी क्षेत्रमा कक्षा १–३ मा ४५ जना मात्रै भएको अवस्थामा समायोजन हुने व्यवस्था छ ।
वडाअध्यक्ष मियाँ स्वास्थ्य र शिक्षालाई प्राथमिकता भएकोले विद्यालयलाई जसरी पनि ब्युँताउने र गुणस्तरीय शिक्षाको लागि सक्दो प्रयास गर्ने बताए । बालबालिकालाई खाजा, विद्यालयको सरसफाइ, पानीको व्यवस्थापन, शौचालय सफाई गरेपछि विद्यार्थी भर्ना गरिएको उनको भनाइ छ । वडाअध्यक्ष मियाँले भने ‘तत्काललाई काम चलाउनको लागि व्यवस्थापन गरिएको छ । अब थप व्यवस्थित र सरसफाइ गर्छौं । बालबालिका पढ्ने वातावरण बनाउने कोसिस गर्छौं’, उनले भने ।
प्रतिक्रिया 4