
५ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युको घटनामा आरोपित अझै पक्राउ नगरेको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन सुरु गरेका छन् । आरोपितलाई स्थानीय प्रशासनले नै संरक्षण गरेको आरोप लगाउँदै उनीहरुले रिले अनसन गरेका हुन् ।
गत जेठ १७ गते राति बेपत्ता भएका शाही २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए । ३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा एमाले कार्यकर्तालाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएका थिए ।
त्यसपछि उनको २१ जेठमा शव भेटिएको थियो । पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्द्ध दिएको किटानी जाहेरी दर्ता नगरेपछि पीडित परिवारले ६ दिनसम्म शव बुझेको थिएन । हुलाकमार्फत पठाइएको जाहेरी प्रहरीले दर्ता गरेपछि मात्र शव बुझेर अन्त्येष्टि गरेका थिए ।
घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति नभएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले प्रशासन कार्यालय केन्द्रित दबावमूलक कार्यक्रम जारी रहने बताएको छ ।
प्रतिक्रिया 4