
काठमाडौं । आगामी भदौमा यूएईको दुबईमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । भदौ ५ गते दुबईको वर्ल्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर हुन लागेको हो ।
ड्रिमहाई नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमालले समेत प्रस्तुति दिने भएका छन् । यस्तै अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, हास्य कलाकार सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, मोडल अञ्जली अधिकारी र नृत्यांगना तेरिया मगरको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले संयोजन गरिरहेको छ । पर्यटन प्रवर्द्धनसँगै सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित पाँच हजार दर्शक अट्ने हलमा आयोजना हुने कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिता जनाउनेहरुका लागि यूएईका सबै राज्यबाट निःशुल्क बसको व्यवस्था गरिएको बताइएको छ । दुबईको कार्यक्रमपछि विश्वका अन्य केही मुलुकहरुमा पनि यही कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4