
६ असार, काठमाडौं । प्रहरी वृत्त, स्वयम्भुका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीबारे छानविन गर्न गठित समितिले उनको कमजोरी औंल्याएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा गठित छानविन समितिले केसीले नियतवस नभइ लापरबाही गरेर प्रहरी आचरण विपरितको काम गरेको निष्कर्ष निकालेको हो । यसका लागि समितिले केसीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।
केन्द्रीय कारागार सुन्धारामा राखिएका गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जेलमा गएर भेट गरेको आरोप लागेपछि उनी जिम्मेवारीबाट हटाइएका थिए । र, प्रहरीले छानविन गर्न समिति बनाएको थियो ।
‘उनी आफैंले बस्न्यातलाई भेटेको त देखिएन तर, अपराधिक पृष्ठभूमिका अमृत केसी भन्ने व्यक्तिलाई भेटाइदिएको देखिएको छ’ गिरीले भने, ‘कारागारको सुरक्षामा आफ्नो ब्याचमेट डीएसपी भएकाले भेट्ने वातावरण मिलाइदिएको देखिएको छ ।’
अपराध महाशाखा र कारागार सुरक्षार्थ खटिएका अन्य अधिकारीहरुको बीचमै अमृतले भेट गरेको भए पनि निर्माण व्यवसायीको हत्या जस्तो गम्भिर घटनाका आरोपीलाई भेटाइनु आचरण विपरितको काम भएको निष्कर्ष प्रतिवेदनमा रहेको एसएसपी गिरीले बताए ।
अमृत कारागार पुगेको दिन सार्वजनिक विदा थियो, सामान्यतया विदाको दिन बाहिरका मान्छेलाई कैदीबन्दी भेट्न दिइँदैन । तर डीएसपी केसीले सहजिकरण गरेपछि उनले बस्न्यातसँग भेट गरेको गिरीको भनाइ छ ।
‘अर्को कुरा वृत्तको प्रमुख जस्तो व्यक्तिले आफ्नो एरिया छाड्दा जानकारी गराउनुपर्नेमा त्यो पनि नगराएको देखियो’ गिरीले भने, ‘त्यसैले दुवै कुरामा प्रहरी नियमावली अनुसार विभागीय कारबाही गर्न भनिएको छ ।’
प्रतिक्रिया 4