+
+

निजी गाडी आयातमा लागेको प्रतिबन्ध खुलाउन नाडाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १५:३०

७ असार, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक प्रतिनिधि टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ ।

मन्त्री बडूसँगको भेटमा कार जीप र भ्यान जस्ता निजी प्रयोजनका गाडीको आयातमा सरकारले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यान आयातमा असार मसान्तसम्म रोक लगाएको थियो ।

भेटमा अध्यक्ष थापाले  निजी प्रयोजनका गाडी आयातमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गरी अटोमोबाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न मन्त्री बडूसँग आग्रह गरेको उप्रेतीले बताए ।

बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बर वृद्धि हुँदा ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको जानकारी अध्यक्ष थापाले मन्त्री बडूलाई गराएका थिए ।

देशको कुल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान आफूहरुको व्यवसायले पुर्‍याउँदै आएको भन्दै अध्यक्ष थापाले अटोमोबाइल्स व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

काठमाण्डौको भृकुटी मण्डपमा आगामी ७-१२ भदौसम्म नाडा अटो एक्सपो-२०२२ आयोजना गर्ने निर्णय भइसकेकोबारे पनि मन्त्री बडूलाई अध्यक्ष थापाले जानकारी गराएका थिए ।

व्यवसायीहरुको गुनासो सुनेपछि मन्त्री बडूले निजी सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध आगामी १ साउनदेखि हट्ने आश्वान दिएको उप्रेतीले बताए ।

प्रतिनिधि टोलीमा नाडाका अध्यक्ष थापासहित महासचिव उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा र एशोसिएसन सचिव सुरेन्द्र प्रधान सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?