
८ असार, गोरखा । रेबिज रोग नियन्त्रणका लागि भन्दै जिल्लामा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
गत वर्ष साउनदेखि हालसम्म ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी रहेका छन् ।
कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् ।
‘छाडा छाडिएका सामुदायिक कुकुरहरुको संख्या बढ्न थाले, यसले रेविजको जोखिम पनि बढायो,’ उनले भनिन्, ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन, अनि रेविजको जोखिम पनि कम हुन्छ ।’ बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेविज बिरुद्धको खोप पनि लगाइएको उनले जानकारी दिइन् ।
कार्यालयले गण्डकी गाउँपालिकामा बन्ध्याकरण शिविर गरेको थियो । काठमाडौंस्थित भ्याली क्लिनिकसँग समन्वय गरेर शिविर गरिएको कार्यालयले जनाएको छ । शिविरमा केन्द्रबाट प्राविधिक टोली समेत खटिएका थिए ।
प्रतिक्रिया 4