
काठमाडौं । ‘कमेडी च्याम्पियन’ हिट भएपछि नेपाली टेलिभिजनमा हास्यव्यंग्य कार्यक्रमको बाढी नै आउन थालेको छ । विभिन्न शीर्षकमा महिनैपिच्छे यस्ता शो निर्माण हुन थालेका छन् ।
यसैबीच, ‘कमेडी च्याम्पियन २’का उपविजेता विक्की अग्रवालले बिहीबारदेखि नयाँ शो ‘कसम याँ दुख्छ’ ल्याउँदैछन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।
यो शोलाई ‘प्रेमगीत २’ र ‘दर्पणछायाँ २’की अभिनेत्री श्रद्धा प्रसाईंले निर्देशन गर्ने भएकी छन् । पछिल्लो समय श्रद्धा र विक्की रिलेसनसिपमा रहेको गसिप चलिरहेको छ । यद्यपि, दुवैले यसलाई खुलेर स्वीकारेका छैनन् ।
यो शोको कार्यकारी निर्माता अमनप्रताप अधिकारी हुन् । ‘यो शो अरुभन्दा भिन्न किन छ भने, यसमा सेलिब्रिटी बोलाएर रोस्ट गरिन्छ । होस्टले पनि रोस्ट गर्न पाउनेछ,’ अधिकारी भन्छन्, ‘हाँसीमजाक गर्दै एकअर्कालाई उडाउने काम यसमा हुन्छ ।’
पहिलो एपिसोडमा गायिका ज्योति मगरलाई अतिथिको रुपमा देख्न पाइने भएको छ । सुरुमा २० एपिसोडलाई लक्षित गर्दै कार्यक्रम ल्याउन लागिएको कार्यकारी निर्माता अधिकारीले जानकारी दिए ।
यो शो प्राइम टीभीमा प्रत्येक बिहीबार राति ९ बजे प्रसारण हुने जनाइएको छ ।
प्रतिक्रिया 4