
काठमाडौं । ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने पद्धतिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय भएको छ । राप्रपा नेता समेत रहेका उद्धव पौडेलले निर्माण गरेको फिल्म भदौ ३ गते देशव्यापी रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै मिति तय गरेका हुन् ।
गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले समेत निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र सृष्टि श्रेष्ठले अभिनय गरेका छन् ।
फिल्ममा यी दुवै कलाकारले विपन्न परिवारको दम्पतीको भूमिका निर्वाह गरेका छन् । दुई पोस्टर सार्वजनिक भएको छ । जसमध्ये एक पोस्टरमा सौगातको चरित्रले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् अर्कोतिर पैसाको थुप्रो चित्रण छ ।
फिल्मले आर्थिक अभावमा कसरी मातृवात्सल्यलाई पनि बिक्री गर्न बाध्य छन् भन्ने कथा पेश गर्छ । फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहराको पनि अभिनय छ ।
फिल्मको छायांकन इलाम र झापामा गरिएको हो ।
प्रतिक्रिया 4