
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार ५०० बजेट प्रस्तुत गरेका हुन् ।
यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९०० रुपैयाँले बढी बजेट ल्याएको वीरेन्द्रनगरले वित्तीय व्यवस्थातर्फ ३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले आन्तरिक आय २७ करोड २५ लाख, संघीय सर्शत अनुदान ५४ करोड ६५ लाख, संघीय राजश्व बाँडफाँड १८ करोड ३३ लाख २२ हजार, प्रदेश समानीकरण अनुदान २ करोड ९३ लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँट ३० लाख ३३ हजार ९६७, प्रदेश सर्शत अनुदान २० करोड ४४ लाख ७२ हजार, सामाजिक सुरक्षा अनुदान ३५ करोड, चालु वर्षबाट ४ करोड ४९ लाख ७२ हजार बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
नगरपालिकाले क्षेत्रगत रुपमा पूर्वाधार विकासतर्फ सबभन्दा बढी २७ करोड ६७ लाख, सामाजिक विकासतर्फ ११ करोड २९ लाख ४९ हजार, आर्थिक विकास तर्फ ६ करोड १५ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५२ लाख र सार्वजनिक सेवा तथा सुशासनका लागी ३ करोड २४ लाख बजेट विनियोजन गरिएको छ ।
यो बजेट आगामी आर्थिक वर्षमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त तर्फका कार्यक्रम बाहेकको भएको उपप्रमुख खनालले बताए ।
नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बजेट ल्याएको उपप्रमुख खनालले बताए । ‘बजेटले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुका साथै शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने नगरको सोचलाई सार्थकता दिनेछ’, उपप्रमुख खनालले भने ।
नगरपालिकाले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वस्च्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’भन्ने नारा अघि सारेको छ । नगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध सहरी सुविधायुक्त, लैंगिक रुपमा महिलामैत्री, सामाजिक रुपले समावेशी/सहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा र व्यवस्थापकीय रुपले सुव्यवस्थित नगरका रुपमा विकास गर्ने योजना अघि सारेको छ ।
बजेटमा मुख्य बजारमा आकाशे पुल निर्माण गनेदेखि विद्युत नपुगेका वडामा विद्युत पुर्याउनेसम्मका योजनाहरु समेटिएका छन् ।
बढी सवारी चाप हुने मंगलगढी र एरिचोक लगायतका क्षेत्रमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने र महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिकाले बजेट ल्याएको छ ।
प्रतिक्रिया 4