
११ असार, गोरखा । सिरानचोक गाउँपालिका– ४ का किसानलाई बंगुर र बाख्राको पाठापाठी वितरण गरिएको छ ।
विपन्न वर्गलाई लक्षित गरी ९० प्रतिशत अनुदानमा पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
कुल ४१ जना किसान लाभान्वित भएको कार्यालय प्रमुख डा. शर्मिला कुमालले बताइन् । ‘३२ जनालाई दुई वटाका दरले बाख्राका पाठापाठी वितरण गर्यौं’, उनले भनिन्, ‘नौ जनालाई एक/एक वटा बंगुरको पाठापाठी दियौं ।’ उनीहरुलाई बाख्रा र बंगुर पालनसँगै आयआर्जन बढाउने सम्बन्धी तालिम पनि दिइएको उनले जानकारी दिइन् ।
‘विपन्न वर्गको जीविकोपार्जनमा सुधार गर्ने कार्यक्रमको उद्देश्य हो, त्यही अनुसार हामीले वस्ती छनोट गरेर कार्यक्रम सञ्चालन गरेका हौं’, उनले भनिन् । समुदाय छनोटका लागि कार्यालय प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति समेत रहेको उनले बताइन् ।
आरुघाट गाउँपालिका–४ र भीमसेन थापा गाउँपालिका–६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4