
१२ असार, काठमाडौं । झण्डै दुई वर्षपछि प्रतिनिधिसभा कानुन निर्माणमा जुटेको छ । तर आइतबार सांसदहरु हाजिर गरेर हिँडेका कारण नीति अनुसन्धान प्रतिष्ठान विधेयक–२०७६ अघि बढाउने क्रममा कोरम नै पुगेन ।
आइतबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको पक्षमा हुनेहरुले हुन्छ र विपक्षमा हुनेहरुले हुन्न भन्न आग्रह गर्दै प्रस्ताव निर्णयार्थ पेश गरे ।
बैठकमा उपस्थित सांसदहरुले ‘हुन्छ’ भनेका छन् भने हुन्न भन्ने सांसदहरु देखिएनन् ।
सभामुख सापकोटा प्रस्ताव पारित भएको घोषणा गर्नतिर लागे । ‘हुन्न भन्ने आवाज सुनिएन । तसर्थ नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि …’ यसपछि भने सभामुख रोकिए, सांसदहरु भएतिर हेरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपट रावल माइक समातेर उभिएर बोल्नका लागि समय मागिरहेका थिए ।
सभामुख सापकोटा सांसद रावललाई बस्न आग्रह गर्दै भन्छन्, ‘छैन पास भएको छैन बस्नुस् ।’
तर, सांसद रावल मान्दैनन् । त्यतिबेलै केही सांसदहरु हतार हतार संसद बैठक हलमा प्रवेश गर्छन् । सांसदहरु भित्र छिर्नेक्रम सुरु भएपछि सभामुख हाँस्दै सांसद रावललाई सम्झाउँछन्, ‘ठीक छ टुंगिइसक्यो यो विषय । यसलाई फेरि किन ऊ गर्न (गणपूरक संख्या यकिन) पर्यो ।’
तर, सांसद रावल मान्दैनन् । नमानेपछि सभामुखले सांसद रावललाई बोल्न समय दिन्छन् ।
त्यसपछि सांसद रावलले ‘कोरम नपुगेको हुनाले विधेयक निर्णयार्थ पेश गर्नु संसद नियमावली विपरीत हुने उल्लेख गर्दै निर्णयार्थ पेश गर्नु भन्दा पहिले सांसदको संख्या गन्न’ माग गरे । त्यसपछि सभामुख सापकोटाले ३ मिनेट समय दिएर सांसदको संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए ।
गणनाका क्रममा कोरम पुगेन । संसद सचिवालयका अनुसार आइतबार १८८ जना प्रतिनिधिसभा सदस्यले हाजिर गरेका थिए । तर गणनाको समयमा ६३ जनामात्र सांसद उपस्थित थिए, हाजिर गरेका १२५ जना सांसद बैठक बंक गरेर हिँडेको पाइयो ।
त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरे । किनकी संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्या २७५ को एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९४ मा ‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने’ व्यवस्था छ ।
सांसदहरुले संसद बैठकमा उपस्थित भएर हाजिरी पुस्तकमा हाजिर गरेपछि बैठक भत्ता एक हजार रुपैयाँ र ट्याक्सी भाडा शीर्षकमा अर्को एक हजार रुपैयाँ पाउँछन् । त्यही कारण भत्ताका लागि हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति हावी छ, त्यही कारण कारम नपुगेर पटकपटक बैठक स्थगित हुने गरेको छ ।
प्रतिनिधिसभा नियमावली अनुसार सम्बन्धित सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सभामुखले स्पष्टीकरणको मौका दिएर चित्त नबुझे पदमुक्त समेत गर्न सक्ने प्रावधान छ । तर हाजिर गरेर टाप कस्ने सांसदलाई सम्बोधन गर्ने कानुनी प्रावधान छैन ।
संसद सचिवालयका पूर्वमहासचिव सूर्य किरण गुरुङ हाजिर गरेर टाप कस्ने प्रवृति धेरै पहिलेदेखि रहेको बताउँछन् । भन्छन्, ‘पहिला पनि भइरहेको कुरा हो हाजिर गर्ने, हिड्ने । अहिले पनि सांसदहरु यस्ता गतिविधि गरिरहेका छन् । यो सांसदहरुको गैरजिम्मेवारीपन हो ।’
प्रतिक्रिया 4