
आमा
त्यो बेला पो
तिमी शीतल छहारी थियौं
अभाव र तनावका तीखा किरणहरु
परावर्तन गर्दिने ।
प्रभातकालीन घामको पहिलो झुल्कोजस्तै
न्यानो अँगालो थियो
हरेक दुश्मन परास्त गर्न सक्ने ।
सिमलको भुवाझैं मुलायम तिम्रा काख
त्यही काखमा पल्टेर
आधारविहीन सपनाको संसार बसाउँथे ।
सपनाका प्वाँखले सजिएको
यौवनकालको मयूरझैं थिए ।
बुबाको खल्तीमा
सबथोक किन्दिने पैसा
र
समस्याका विशाल पहाड बोक्ने
तिम्रो काँध थियो ।
तिम्रो छहारीमा
म संसारकै धनी थिए
त्यत्तिकै बलमान
खुसी र सुखी पनि ।
बल्ल बुझ्दैछु
तिमी
कुप्रो परेको उमेरले होइन
तिमीले बोकेका जिम्मेवारीका भारीहरुले हो ।
तिम्रो शरीर चाल्नोझैं बनेको
तिमीले छेकेका ती किरणहरुले हो ।
तिम्रो जोर्नीहरु मक्किएका
दुश्मनले दिएका चोटहरुले हो ।
तिम्रा गाला चाउरिएका होइनन्
सपनाका प्वाँखहरुले
छाडेर गएका डोबहरुले हो ।
मेरा कल्पनाका विमानमा तिमीलाई
धेरैचोटि उडाएको छु
कैयौंपटक
ब्रह्माण्डको भ्रमण गराएको छु
जब तिम्रो काख सानो
म ठूलो हुँदै गएँ
मेरा पनि सपनाका प्वाँखहरु
कल्पनाका विमानहरु
सिसाझैं टुट्दै झर्दै टुट्दै झर्दै गए ।
अहिले म
शिशिर ऋतुको
पतझर बनझैं भएको छु ।
बाटो हराएको बटुवा भई
आधीबाटोमै रुमल्लिएको छु ।
सिङ्गो सिसाबाट टुक्रिएको
आकार नमिलेको सानो चोइटोजस्तै
जब मिलाउन खोज्छु, टुक्रिन्छु तर जोडिन्न
म त्यही सिसाको टुक्रा हुँ ।
सडकको एक कुनामा थुपारिएको
प्रयोगविहीन मूल्यविहीन ।
प्रतिक्रिया 4