
काठमाडौं । एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका भारतीय अभिनेता ब्रह्मानन्दमले नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने भएका छन् ।
निर्माण कम्पनी नीता फिल्म्स र ब्रह्मानन्दमबीच लिखित सम्झौता भएको छ । भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण समेत प्राप्त गरेका उनलाई महंगो पारिश्रमिकमा अनुबन्धित गरिएको जनाइएको छ ।
अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको यो फिल्ममा ब्रह्मानन्दम देखिन लागेको निर्देशक चन्द्र पन्तसँगको तस्वीरमार्फत जानकारी दिइएको छ । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका उनी अभिनयको ‘कमिक एक्सप्रेसन’बाट चर्चित छन् ।
सन् १९९९ मा अमिताभ बच्चनसँग ‘सूर्यवंशम्’मा अभिनय गरेयता उनले कुनै हिन्दी फिल्ममा अभिनय गरेका छैनन् । ब्रह्मानन्दमको उपस्थितिले फिल्मको लाइनअप बलियो भएको नीताले बताइन् ।
यसअघि यो फिल्ममा सुनिल बर्मा, प्रदीपराज रावत, एक्टर अली समेत अनुबन्धित भइसकेका छन् । फिल्मलाई बलिउड छायांकार कवीरलालले खिच्ने पक्का भइसकेको छ ।
नेपाल र भारतमा खिचिने ‘ह्रस्वदीर्घ’मा धनन्जय घलानी कास्टिङ निर्देशक छन् । नेपाली कलाकारहरु हरिहर अधिकारी, सरोज खनाल र सलोन बस्नेत पनि फिल्मको मुख्य भूमिकामा छन् । असोजदेखि छायांकन सुरु हुने फिल्मलाई भारतको चर्चित फिल्म स्टुडियो रामोजीमा समेत सुटिङ गरिने भएको छ ।
प्रतिक्रिया 4