+
+
कोभिड-१९ :

दुई सातामै चार गुणा बढ्यो कोरोनाको संक्रमण दर

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असार १५ गते २०:१३

१५ असार, काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ३ दशमलव ४६ प्रतिशत हो ।

१ असारमा संक्रमणदर ० दशमलव ६४ प्रतिशत मात्र थियो । दुई सातामै कोरोना संक्रमणको दुईसातायता झण्डै चार गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदरसँगै संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लागेको देखाउँछ । ७ असारमा १२४ सक्रिय संक्रमित रहेकोमा बुधबारसम्म आइपुग्दा २६१ पुगेको छ ।

क्रमशः संक्रमण उकालो लाग्नुको मुख्य कारण खोप लगाएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जानु र भारतमा बढ्दो संक्रमणको प्रभाव रहेको विज्ञहरु बताउँछन् । यसले अर्को नयाँ महामारीको लहर ल्याउँछ कि ल्याउन्न भन्ने थाहा पाउन केही हप्ताको तथ्यांकलाई हेर्नुपर्ने उनीहरुको तर्क छ ।

संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीका अनुसार कोरोनाविरुद्धको खोपको प्रभावकारिता ६ महिनाबाट क्रमशः घट्दै जाँदा पुन: संक्रमण भएको आंकलन गर्न सकिन्छ ।

‘नयाँ भेरियन्ट नेपालमा देखिएको शंका गर्ने ठाउँ पनि छ । जति नयाँ भेरियन्ट आएको छ, पहिलाको भन्दा चाँडैं सर्ने र खोपको प्रभावकारिता घटाउने खालका छन्,’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘अहिले कोरोनाको भाइरस पहिलाकोभन्दा चलाख भएर आएको छ ।’

६-६ महिनापछि नयाँ लहर आएको अनुभवबाट पनि हामी अर्को लहरको नजिकमा छौं अनुमान लगाउन सकिने उनी बताउँछन् ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित संख्या विस्तारै फैलिएको छ । भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिने गरेको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा.चुमनलाल दासले पछिल्लो दिनमा संक्रमणदर बढ्दै जानु चिन्ताजनक भएको बताउँछन् । ‘दैनिक ५–६ जना मात्रै पुष्टि हुने गरेको ६० भन्दा माथि लाग्नु चुनौतीको विषय हो,’ डा. दासले भने, ‘भारतबाट नेपाल आउनेको सीमा नाकामा संक्रमण दर क्रमशः बढ्न थालेको छ । हामीले अस्पताललाई तयारी रहन निर्देशन दिएका छौं ।’

शुक्रराज तथा ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कुन भेरियन्टका कारण संक्रमण बढ्यो भनेर एकीन गर्न जरूरी भएको बताउँछन् । ‘अहिले विभिन्न देशमा कोरोना संक्रमण बढ्नुमा ‘बीए ४’ र ‘बीए ५ भेरियन्टको प्रभाव रहेको छ,’ डा. पुनले भने, ‘नेपालमा ओमिक्रोन भेरियन्टले संक्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा संक्रमणदर उकालो लागेको हो खोजी गर्न आवश्यक छ ।’

जीवाणुविज्ञ डा.सन्तोष दुलाल पनि जिन सिक्वेन्सिङ गनुपर्ने बताउँछन् । ‘कोरोना महामारी हटेको छैन । कुनै समय कुनै देशमा घट्ने वा अरु देशमा लहरको रुपमा आउने क्रम चलिरहेको छ,’ डा. दुलालले अनलाइनखबरसँग भने, ‘अन्य देशको अनुभव हेर्दा नेपालमा अब लहरको रुपमा आउँछ कि भनेर आशंका गर्न सकिन्छ ।’ तर अहिले मौसमी रुघाखोकी लाग्ने समय भएको र ओमिक्रोन भेरियन्ट संक्रमणको लक्षण पनि मौसमी रुघाखोकीसँग मिल्दोजुल्दो भएका कारण धेरै मानिसले परीक्षण नै नगराएका दुलाल बताउँछन् ।

जनस्वास्थ्य विद्हरु समुदाय स्तरमा संक्रमणका केसहरु रहेकाले परीक्षणको दायारालाई बढाउनुपर्ने बताउँछन् ।

धुलिखेल अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठ पनि समुदाय स्तरमा कोरोना बिरामी लुकेर बसेको बताउँछन् । ‘कोरोना लक्षण देखिएपछि आफैं एन्टिजेन गरेर घरमा बसिरहेका पाएका छौं,’ डा. श्रेष्ठले भने, ‘समुदायमा कोरोना छ । सबैले खोप पाएका कारण पुनः संक्रमित हुँदा पनि मध्यम खालको समस्या मात्रै देखिएको छ ।’

कोरोना पुष्टि भएका नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा दुई हप्ताको फरकमा स्क्रिनिङ गर्ने गरिएको छ । प्रयोगशालाकी निर्देशक डा. रुना झाको अनुसार दुई हप्ताको फरकमा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोन भेरियन्ट नै देखिएको छ ।

‘अहिलेसम्मको रिर्पोटमा अन्य कुनै पनि नयाँ भेरियन्ट देखिएको छैन । हामीले दुई हप्तामा ३० वटा केसहरुको जिन सिक्वेन्सिङ गरेकोमा ओमिक्रोन देखिएको छ,’ डा. झाले भनिन्, ‘पछिल्लो चरणको केसको जिन सिक्वेन्सिङ भइरहेको छ । संक्रमण बढ्नुमा कुन भेरियन्टले भएको देखाउँला ।’

जनस्वास्थ्य विद्हरु समुदाय स्तरमा संक्रमणका केसहरु रहेकाले परीक्षणको दायारालाई बढाउनुपर्ने बताउँछन् । ‘अहिले विदेशमा जाने मानिसको मात्रै परीक्षण भइरहेको छ । समुदाय कोरोना लक्षण भएका सबै र उनीहरुको सम्पर्कमा आएका मानिसलाई परीक्षणको दायरामा ल्याउन सकेमात्र कोरोनाको फैलावटलाई केही हदसम्म रोक्न सकिने धुलिखेल अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठ बताउँछन् ।

उनका अनुसार संक्रमणको दर पत्ता लगाउनका लागि धुलिखेल क्षेत्र पाइलट प्रोजेक्टको रुपमा घर–घरमा गएर परीक्षण गर्ने तयारी छ । साथै कोरोना खोप अभियानलाई बढाउनुपर्ने र दुबै डोज लगाएको ६ महिनाभन्दा बढी समय भएकाहरुलाई बुस्टर डोज दिनुपर्ने डा. अधिकारी बताउँछन् ।

‘क्रमशः खोपको प्रभावकारीता घटेको छ । अब बुस्टर डोज दिनुपर्छ । खोप लगाएपनि अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ,’ डा. अधिकारीले भने ।

कोरोना संक्रमणको दर बिस्तारै बढेको देखिपनि अस्पतालमा भने बिरामी भर्ना भएका छैनन् । त्रिवि शिक्षण अस्पतालका कोरोना फोर्कल पर्सन डा. निरज बल पछिल्लो दिनमा कोरोना बिरामी भर्ना नभएको तर, अब भर्ना दर बढ्ने आशंका गरिएको बताउँछन् ।

‘मंगलबार मात्रै निमोनिया भएर दुई जना बिरामी भर्ना हुनु भएको थियो, रिर्पोट भने नेगेटिभ आयो,’ डा. बमले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?