
काठमाडौं । सञ्जयलीला भन्सालीको महत्वाकांक्षी वेब सिरिज ‘हीरामण्डी’को छायांकन भारतको हैदराबादमा सुरु भएको छ । मनिषा कोइराला र अदिती राव हैदारीको पहिलो दिनको दृश्यांकनसँगै सिरिजको छायांकन सुरु भएको हो । पहिलो सट् चाहिं मनिषाले दिइन् ।
मनिषाले भन्सालीको पहिलो फिल्म ‘खामोशी द म्युजिकल’मा अभिनय गरेकी थिइन् । त्यसयता उनीहरुको सम्बन्ध हार्दिक छ । २०० करोड भारु बजेट बताइएको सिरिजसँगै प्रतिष्ठित बलिउड निर्देशक भन्सालीले ओटीटी प्लेटफर्ममा डेब्यु गरेका छन् । यो सिरिजलाई नेटफ्लिक्सको महंगोमध्येको मानिएको छ ।
भारत विभाजनपूर्व त्यहाँको कोठीमा हुने राजनीति, षड्यन्त्र र निन्दाको कथावस्तु समेटिएको छ । अभिनेत्री ऋचा चड्डाले कत्थक नृत्यको प्रशिक्षण लिइरहेकी छिन् र उनी सेटमा ज्वाइन गर्ने तयारीमा छन् । भव्य सेट बनाएर ‘हीरामण्डी’को छायांकन भइरहेको छ ।
वेब सिरिज हीरामण्डीलाई ‘सेक्रेड गेम्स’पछि नेटफ्लिक्सको महंगो प्रोजेक्ट बताइएको छ । नेटफ्लिक्सले यसअघि एसएस राजामौलीसँग मिलेर ‘बाहुबली’ अघिको कथामा फिल्म बनाउने चर्चा पनि थियो तर त्यो योजना स्थगित भयो ।
सिरिजमा मनिषा र अदितीसहित हुमा कुुरेशी र ऋचा चड्डाको समेत मुख्य भूमिका छ । ‘हीरामण्डी’ छायांकनकै लागि मनिषा गत साता काठमाडौंबाट मुम्बई पुगेकी थिइन् । उनी पछिल्लो समय काठमाडौंमै परिवारसँग बस्दै आएकी छन् ।
प्रतिक्रिया 4