
१७ असार, काठमाडौं । भारतको सर्वोच्च अदालतले उदयपुरमा भएको घटनाका लागि भारतीय जनता पार्टी (भाजपा)की पूर्व प्रवक्ता नुपुर शर्मालाई जिम्मेवार ठहर्याएको छ ।
शर्माले पछिल्लो महिना टीभी डिबेटका क्रममा पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेकी थिइन्, नुपुरको भनाइको मुस्लिम देशहरुले औपचारिक रुपमै विरोध गरेका थिए ।
नुपुरलाई पक्राउ गर्न माग गर्दै भारतका केही ठाउँमा हिंसात्मक प्रदर्शन भयो, राँचीमा पुलिसले फाइरिङ गर्दा केहीको मृत्यु भयो । नुपुरको पक्षमा सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई लिएर राजस्थानको उदयपुरमा दुई जनाले घाँटी रेटेर एक जनाको हत्या गरेका थिए ।
विवादास्पद बयानका कारण भाजपाले शर्मालाई निलम्बन ग¥यो । उनीविरुद्ध भारतका विभिन्न राज्यमा गरी एक दर्जन एफआईआर दर्ता भएको थियो, जसलाई सर्वोच्च अदालतले आफ्नो मातहतमा ल्याएर सुनुवाइ गरेको थियो ।
अदालतले शर्माको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि तपाईं एक पार्टीको प्रवक्ता हुनुहुन्छ भने पनि तपाईंलाई यस्तो बयान दिने लाइसेन्स छैन ।’
शर्माको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता मनिन्दर सिंहले तत्काल अभिव्यक्ति फिर्ता लिएको र माफी पनि मागेको बताएका थिए । तर सर्वोच्चका न्यायाधीशहरुले यसमा असन्तुष्टि जनाए र त्यही टीभीमा गएर देशसामू माफी माग्नुपर्ने बताएका छन् ।
अदालतले भनेको छ, ‘उनले निकै ढिला गरिन् र अभिव्यक्तिलाई पनि सशर्त फिर्ता लिइयो ।’ शर्माले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए माफी माग्ने बताएकी थिइन् ।
अदालतले अघि भनेको छ, ‘जसरी नुपुर शर्माले देशभरको भावनालाई उक्साइन्, त्यसमा देशमा जे भइरहेको छ, त्यसका लागि मात्र उनी जिम्मेवार छिन् ।’
अदालतमा दिएको उनको निवेदनमा पनि अहंकार झल्किएको र एफआईआर दर्ता हुँदा पनि पक्राउ नपर्नुले उनको पहुँच देखाउने भारतको सर्वोच्च अदालतले बताएको छ । नुपुर शर्माका वकिलले भने उनले निवेदन फिर्ता लिन अनुमति माग्दै छानबिनमा सहयोग गर्ने भरोसा दिलाएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया 4