+
+

५० करोड लगानीमा यस्तो बन्दैछ बुद्ध एयरको ‘आरजु राइस मिल’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १५:५८

१७ असार, मोरङ । आन्तरिक उडानमा नेपालको सबैभन्दा धेरै यात्रु बोक्ने बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यवसायिक कृषिमा लगानी गरेको छ ।२०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउँदैछ । मिलको नाम ‘आरजु राइस मिल’ राखिएको छ । मिलको स्थापनामा झण्डै ५० करोड रुपैयाँ लगानी हुने आरजु राइस मिलका महाप्रवन्धक विवेकानन्द झा बताउँछन् । मोरङको बेलबारी नगरपालिकास्थित डाङ्गीहाटमा अहिले धमाधम राइसमिल जडानको काम चलिरहेको छ ।

महाप्रवन्धक झाका अनुसार आगामी कात्तिकमा फल्ने धान कृषकबाट खरिद गरी चामल उत्पादन गर्ने लक्ष्यसहित अहिले मिल जडानको काम जारी छ । बुद्धले कृषिको यान्त्रीकरणमा ७ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । सो भेगमा स–साना टुक्रा जमिन एकीकृत गरी ठूला मेसिनको प्रयोगबाट धान रोप्ने र काट्ने काम भइरहेको छ ।

बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ । यसरी फलेको धान अब आरजु राइस मिलले किन्ने छ ।
आरजु राइस मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्रान्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ ।

पछिल्लो ११ महिनामा नेपालले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको चामल आयात गरिसकेको छ । चामलको बढ्दो आयातलाई प्रतिस्थापन गर्न राइस मिलले ठूलो भूमिका खेल्ने महाप्रवन्धक झा बताउँछन् ।

कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेका अनेक ब्रोकरको चेन तोड्ने बताएको छ । यो राइस मिलले पहिलो एक सिजनमा २ हजार मेट्रिक टन र त्यसपछि वार्षिक १३ हजार मेट्रिक टन चामल उत्पादन गर्ने लक्ष्य लिएको छ । १३ हजारको लक्ष्य पूरा भएपछि भने क्षमता विस्तार गरी वार्षिक ६० हजार पुर्‍याउने लक्ष्य रहेको छ ।

 

शब्द/तस्वीर : अच्युत पुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?