+
+

उपेन्द्रले प्रष्ट सन्देश दिइसके, दोधारमा बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते २१:५१

१७ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट पक्षलाई प्रष्ट सन्देश दिएका छन्, ‘मेरो नेतृत्व स्वीकार भए बस्नुस्, नभए जानुस् ।’

संघीय परिषद्का अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई र उनको पक्षले यादवको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय पार्टीमा बहुमत जुटाउने प्रयास पनि गरेको थियो । त्यसमा यादवको पल्ला भारी भएपछि भट्टराईले बुधबार भेटे र फुट्नु परे सहमतिमै छट्टिने भन्दै संघर्षलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरे ।

भट्टराई निकट नेताहरुका अनुसार उनको पहिलो प्राथमिकता पार्टीलाई सच्चाउने नै थियो । तर यादवले भट्टराईसँग भएको भेटमा हार्दिकतापूर्वक अलग हुने सहमति भएको संसदीय दलको बैठक र सञ्चार माध्यमहरुमा बताए । मन्त्री हेरफेरका लागि गृहकार्य गर्नुका साथै २७–२८ असारमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

अब भट्टराई पक्षसँग यादवकै नेतृत्व स्वीकार गरेर जसपामा बस्ने वा नयाँ पार्टी बनाउने विकल्प मात्र छ ।

नयाँ शक्तिको पृष्टभूमिबाट आएका अधिकांश नेता कार्यकर्ता कुनै हालतमा जसपामा नबस्ने मुडमा छन् । हिजो राजपाबाट आएका नेता कार्यकर्ताको समेत साथ भएकाले नयाँ दल बनाएर जानुपर्नेमा उनीहरुको जोड छ । भट्टराई स्वयंम भने यथास्थितिमा यादवको नेतृत्व स्वीकार गरेर जसपामा बसिरहन तयार छैनन्, तर नयाँ पार्टी गठन गर्ने निर्णयमा पनि पुगिसकेको छैनन् । उनी निकट एक पदाधिकारी भन्छन्, ‘खासगरी सांसद र जनप्रतिनिधिहरुका कारण निर्णय गर्न अप्ठ्यारो परेको छ ।’

प्रतिनिधिसभा सदस्यहरु महिन्द्र राय यादव, राजकिशोर यादव, अमृता अग्रहरी लगायत अहिले डा. भट्टराईको पक्षमा खुलेका छन् । केही प्रदेश सभा सदस्यका साथै स्थानीय तहमा जनता समाजवादी पार्टीबाट निर्वाचित केही जनप्रतिनिधि पनि भट्टराई पक्षमा छन् ।

तर दल विभाजन गर्दा ४० प्रतिशत पुगेन भने जसपाले कारबाही गर्दा स्वतः पदमुक्त हुने अवस्था आउँछ । ‘सांसद पद त ६ महिनाका लागि हो, तर स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पुरै जस्तो बाँकी छ,’ एक नेता भन्छन्, ‘नयाँ दल बनाउँदा ४० प्रतिशत पुगेन भने त उनीहरु कारबाहीमा पर्छन् । त्यसैले निर्णयमा पुग्नु अघि उहाँहरुसँग पनि परामर्श गर्नुस् भनेर डा.सा’बलाई सुझाव दिएको छौं ।’

भट्टराईले अहिले उनीहरुसँग सम्वाद गरिरहेका छन् । केहीले अझै पार्टीमा बसेर संघर्ष गर्नुपर्ने र फुटबाट जोगाउनुपर्ने बताएका छन् भने बहुसंख्यकले एकपक्षीय रुपमा बोलाएको बैठकमा जान नहुने बताएका छन् । एक नेताका अनुसार बीरगञ्जको बैठकमा जाने कि नजाने भनेर भोलि शनिबार निर्णयमा पुग्ने सम्भावना छ ।

वीरगञ्जको बैठकमा बैठकमा जाँदा कम्तिमा प्रदेश र प्रतिनिधिसभा चुनावसम्म पार्टीको फुट टर्ने छ । बैठकमा नजाँदा अर्को पार्टीको निर्माणको बाटो सुरु हुन्छ ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारी भने  भट्टराई पक्षको असन्तुष्टिको औचित्य नभएको बताउँछन् ।  ‘बैठक नबोलाउँदा बोलाएन भन्छन्, बोलाउँदा एकलौटी रुपमा बोलाइयो भन्छन् । यसको कुनै अर्थ छैन,’ उनले अनलाइनखबरसँग भने, अब पार्टी आफ्नो गतिमा अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?