+
+

स्वतन्त्र उम्मेदवारको गठबन्धन बनाउने प्रस्ताव, मिसन १६५ सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते १८:१९

१८ असार, काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।

अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।

उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् ।

‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं’ अवधारणापत्रमा भनिएको छ ।

देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

‘स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिदैन । तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्छ’ अवधारणापत्रमा संयोजक साहुले भनेका छन् ।

स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ ।

समानुपातिकमा के गर्ने ?

स्वतन्त्र उम्मेदवारी अभियानले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ कसलाई मत माग्ने भन्ने विषय चुनौतीको रुपमा देखिएको बताएको छ ।

आइतबार सार्वजनिक अवधारणापत्रमा प्रत्यक्ष तर्फको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मत माग्दा समानुपातिक निर्वाचन प्रणालीमा कसलाई मत माग्ने भन्ने विषय छिटो टुंग्याउनुपर्ने स्थिति आएको उल्लेख गरिएको छ । ‘प्रत्यक्षमा स्वतन्त्रमा मतदान गर्नोस् भन्दै गर्दा समानुपातिक मतको सन्दर्भमा हामीले मतदातालाई के भन्ने ? यसको उचित समाधान आगामी निर्वाचन अघि नै खोज्नुपर्नेछ’ अवधारणापत्रमा भनिएको छ ।

त्यसका लागि दल खोल्ने वा कुनै अरु नै दललाई मत माग्ने भन्ने द्विविधा रहेको अवधारणापत्रमा जनाइएको छ । ‘प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरेर समानुपातिकमा कुनै दललाई भोट हाल्ने वा समानुपातिकका लागि नयाँ दल वा मोर्चा खोलेर निर्वाचन आयोगमा दर्ता गराउने । यी दुई विरीत प्रश्नहरुको उचित समाधान आवश्यक छ’ अवधारणापत्रमा भनिएको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले कुनै पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वचनको मिति घोषणा गरेको दिन भन्दा अगावै पार्टी परित्याग गरेकोा व्यक्तिलाई स्वतन्त्र मान्न सकिने उल्लेख गरेको छ । तर राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र नपर्ने प्रष्ट्याएको छ ।

रवि लामिछानेहरु ढडिया थाप्न आए

स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर आएको देखेर आगामी चुनावमा समानुपातिक भोटको लागि दल खोल्ने क्रम बढेको बताएको छ ।

पूर्व डीआईजी रमेश खरेलले पार्टी खोलेको, पूर्व आईजी सर्वेन्द्र खनाल अर्कै पार्टी खोल्न खोजेको भन्दै उनीहरुले किन व्यक्तिपिच्छे पार्टी खोलिदैछ भन्ने प्रश्न उठाएका छन् ।

‘यही क्रममा भर्खरै हतार हतार रवि लामिछानेले पनि नयाँ पार्टी खोल्नुको आशय के हो ? स्थानीय चुनावमा स्वतन्त्रको पक्षमा लहर आएको देखेर समानुपातिक भोटको ढडिया थापेर त्यसैमा तर मार्ने उद्देश्यले स्वतन्त्रकै बदमान हुने गरी हतारमा पार्टी खोलिएको त होइन ?’ अवधारणापत्रमा प्रश्न गरिएको छ ।

हेर्नुहोस् अवधारणापत्रको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?