+
+

फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोर

रासस रासस
२०७९ असार १९ गते १२:५३

१९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर उठाउन जिम्मा दिएको कम्पनीले नै सडकमा फोहोर थुपारेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो ।

गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताए ।

फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । ‘बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ’, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताए ।

राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उनले बताए । महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहोर एकै ठाउँमा राखेर फालेको देखिन्छ ।

महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहोर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?