
२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाव दिइरहेका बेला कानुनमन्त्री बन्दीले बजेट छलफलका कारण महाअभियोग प्रस्ताव छलफलमा ढिलाइ भएको दावी गरे ।
‘संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पास भइसकेको छ । बजेट पास भइसकेपछि बाँकी रहेको विधेयकहरु आउँदैछ । साथसाथै महाअभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदैछौं । संसदमा छलफल गराउने कुरामा चाहिँ कार्य व्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ । अब त्यो धेरैबेर रहन्न’ उनले भने ।
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदको यसै अधिवेशनमा छलफल भएर टुंगो लाग्ने मन्त्री बन्दीले बताए । ‘यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के–के हुन, त्यो आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन् ? त्यसबारे संसदमा व्यापक छलफल हुन्छ ।’
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भएपनि उनको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले गरिरको बताए ।
प्रतिक्रिया 4