
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्थानीय निर्वाचनमा तालमेलको चर्को विरोधी थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई (कांग्रेस) हात्तीको कानमा ओत लाग्न आएका चमेराको संज्ञा दिए । गुरुङको अभिव्यक्तिकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दम्भ नदेखाउन चेतावनी दिएका थिए ।
स्थानीय चुनाव सकियो, गठबन्धनबाट लाभ लिएको कांग्रेस सबैभन्दा धेरै ३२९ पालिकाको नेतृत्व जित्न सफल भयो । संसदमा पहिलो दल बन्ने हो भने प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन अनिवार्य जस्तै बनेको छ ।
कांग्रेस उपसभापति गुरुङको अभिव्यक्ति फेरिएको छ । गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने भन्दै उनले मुनमुटाव नगर्न सहयात्री दलहरुलाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंको अनामनगरमा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा उपसभापति गुरुङले गठबन्धन रुपी जहाजको सेफल्याण्डिङ चुनावपछि मात्रै हुने बताए । भन्छन्, ‘त्यही जहाजभित्र बसेर साथीहरुले ङ्याङ्यार ङुरङुर गरिहनहुन्न भन्ने मेरो ठहर छ ।’
उनको संकेत माओवादी र एकीकृत समाजवादीतर्फ हो । दुबै दलले संस्थागत रुपमै कांग्रेस तालमेलप्रति इमान्दार नभएको निष्कर्ष निकालेका छन् ।
काठमाडौंमा चलिरहेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा भनिएको छ, ‘कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केही दिन पहिले पार्टी बैठकमा पेश गरेको प्रतिवेदनमा पनि कांग्रेसप्रति यस्तै गुनासो थियो ।
सत्ता गठबन्धनमा रहेका दलहरुलाई एउटै जहाजमा सवार यात्री भन्दै कांग्रेस उपसभापति गुरुङले भने अहिले गुनासो गर्ने बेला नभएको बताएका छन् । आरोप प्रत्यारोपमा उत्रिनु अपरिपक्व राजनीति ठहरिने भन्दै उनले भनेका छन्, ‘जहाज चढिसक्यौं । जहाज उडिसकेको छ । जहाज आकाशमा छ । जहाज ल्याण्डिङ भएको छैन’ उनले भने, ‘साढे १० हजार माथि उडिरहेकाले प्याराशुट गर्न पनि सम्भव भएको छैन । प्याराशुट जम्प गर्दा खुट्टा भाचिन्छ कि भन्ने त्रासदी छ ।’
ल्याण्डिङ गर्ने बेलामा कांग्रेस इमान्दार भएन भन्ने सुनिएको भन्दै कांग्रेस उपसभापति गुरुङले अघि भनेका छन्, ‘आकाशमा उडिरहेको जहाजभित्र हामीले झगडा सुरु गर्यौं भने जहाजले सेफल्याण्डिङ गर्न सक्दैन ।’
गुरुङ मात्र होइन, स्थानीय तहको चुनावमा तालमेलको विपक्षमा रहेका डा. शेखर कोइराला समूहका धेरै नेताहरुको फेरिएको बोली सुनिन थालेको छ ।
जबकी कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले चुनावी तालमेलका लागि प्रयास गर्दा डा. शेखर कोइराला समूहका नेताहरुले चर्को विरोध गरेका थिए । कांग्रेसमै दुई धार देखिएपछि केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तहको आश्यकता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।
अहिले शेखर समूहका नेताहरु पनि तालमेलको पक्षमा देखिएको स्वीकार गर्दै उपसभापति गुरुङले अनलाइनखबरसँग भने, ‘स्थानीय चुनावमा गठबन्धन गर्न हुन्नथ्यो । गरिहालियो । जहाज त्यतिबेलै चढ्न हुन्नथ्यो । चढेपछि वीचमा झर्न मिल्दैन नि ! अब जहाजलाई सुरक्षित अवतरण गर्न दिऔं ।’
प्रतिक्रिया 4