
२१ असार, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।
सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।
स्थानीय चुनाव लगत्तै सरकार छाड्ने गरी सुरुमा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बने । चुनावपछि कांग्रेसले सहमति कार्यान्वयनको माग गर्यो । तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन दिनुस् भनेपछि आफूले मानेको बानियाँ बनाउँछन् । भन्छन्, ‘बजेट ल्याउन दिनुस् भनेपछि एक महिनाका लागि हार्दिकतापूर्वक ओके भनेको हुँ ।’
बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाव दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन नै गरे । एकीकृत समाजवादीमा समेत हस्ताक्षर संकलन गर्ने सहमति भएको भन्दै बानियाँ भन्छन्, ‘मुख्यमन्त्रीलाई हटाउने मनसायले वा उहाँले हट्न नमानेर होइन, सहमतिमै हस्ताक्षर संकलन गरेका हौं ।’
सत्तारुढ दुई दलले हस्ताक्षर संकलन गरेपछि एकीकृत समाजवादीले भने असन्तुष्टि जनायो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले भने गठबन्धन भत्किन्छ भने पाण्डेको सरकारलाई समर्थन गर्नसक्ने आश्वासन दिए ।
गठबन्धनका नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २–२ र जनता समाजवादी पार्टीले एक प्रदेशको मुख्यमन्त्री लिने सहमति शीर्ष तहमै भएको हो । नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् ।
माओवादी शीर्ष नेतृत्वले त सरकार परिर्वतनको खेलमा नलाग्न प्रदेशका नेताहरुलाई निर्देशन नै दिएको छ ।
माओवादी सांसद युवराज दुलाल भन्छन्, ‘सात प्रदेशका सरकार सकेसम्म नचलाउने कुरा केन्द्रीय गठबन्धनको छ । बागमती सरकार गठन हुँदा आलोपालो गर्ने भन्ने सहमति भएकाले कुरा उठेको हो । प्रदेशमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँ सहमति अनुसार जान तयार हुनुभयो । तर, केन्द्रले यसबारे नयाँ निर्णय लिएको छैन ।’
प्रदेश सरकार संचालन संयन्त्रका संयोजक समेत रहेका दुलाल प्रधानमन्त्रीले चाहँदा मात्र मुख्यमन्त्री हेरफेर हुनसक्ने बताउँछन् ।
कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँ भने मुख्यमन्त्री हेरफेर नगर्ने सहमति शीर्ष तहमा भएकोबारे आफूलाई जानकारी नभएको बताउँछन् । आलोपालोको सहमति लिखित रुपमै भएकाले कार्यान्वयनको माग गरेको भन्दै उनले भने, ‘अहिले अरु प्रदेशसँग जोडेर नयाँ कुरा आएको छ, यो दुःखद छ ।’
यद्यपि अहिले गठबन्धनलाई कमजोर बनाउने काम कांग्रेसले नगर्ने भन्दै उनले भने, ‘हामी गठबन्धनलाई कमजोर बनाउने गरी मरिहत्ते गर्दैनौं । नैतिक, राजनीतिक र गठबन्धनको भावना अनुसार चल्ने नचल्ने उहाँहरुको कुरा रह्यो ।’
प्रतिक्रिया 4