
काठमाडौं । किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेर नाटक मञ्चन हुने भएको छ ।
साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो । यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् ।
नाटकले सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गर्ने लेखक राजन मुकारुङले अनलाइनखबरलाई जानकारी दिए ।
‘खुवालुङको मिथ र वर्तमान कुरा नाटकमा हुनेछ । विकासको नाममा प्राकृतिक सौन्दर्य र महत्वमाथि हस्तक्षेप हुनुहुँदैन भन्ने सन्देश नाटकले दिन्छ,’ मुकारुङले भने ।
लेखक समेत रहेका मुकारुङले जेटबोट चलाउन खुवालुङ ढुंगोलाई फुटाउन भएको प्रयासको प्रतिरोधको नेतृत्व पनि गरेका थिए । नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री,, प्रशंसा गुरुङसहित ३० जना कलाकारले अभिनय गर्ने भएका छन् ।
अभिनेता दयाहाङ राईकै जोडबलमा नाटक मञ्चन हुन लागेको र उनलाई कुनै न कुनै भूमिकामा समेत देख्न पाइने मुकारुङले बताए ।
प्रतिक्रिया 4