
२१ असार, काठमाडौं । रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुद अन्तर्गत मंगलबार प्रथम यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसंगै १ लाख रुपैयाँ पुरस्कार जित्यो । दोस्रो भएको टाइम्सले ५० हजार रुपैयाँ पायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।
रोयलले पहिलो क्वार्टरमा २३–१८ को अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा २२–१६ को अग्रता लिएको रोयल तेस्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वार्टर १३–१३ को बराबरीमा टुंगियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।
विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले पुरस्कार प्रदान गरे । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए ।
७१ औं मदन भण्डारी जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुल कन्ट्याक्ट कराते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेका थिए ।
प्रतिक्रिया 4