
काठमाडौं । मंगलबार बेलुका अनामनगर बस्ने सुशील (नाम परिवर्तन)लाई ह्वाट्स एपमा एउटा म्यासेज आयो, ५० हजार अमेरिकी डलर राशीको लक्की ड्र जितेको भनेर ।
उक्त म्यासेजमा अभिनेता राजेश हमालको तस्वीर समेत प्रयोग छ । त्यसको केही बेरमा पुनः ह्वाट्स एप कल पनि आयो । लक्की ड्र जितेकाले बैंक खाताको पूर्ण विवरण फोन गरेरै मागिएको थियो ।
सन्देश आएको मोबाइल नम्बरमा पाकिस्तानको कन्ट्री कोड +९२ देखिन्छ । उक्त सन्देशमा मिस्टर जोन नाम गरेको व्यक्तिलाई +४४७५१०३२७७३२ नम्बरमा ह्वाट्स एप म्यासेज पठाउन समेत भनिएको छ ।
सुशील मात्र होइन, धेरै नेपालीलाई उक्त म्यासेज आएको अनुमान गरिएको छ । लक्की ड्रको यस्तो भ्रामक सूचनाबाट ठगिने समाचार आइरहँदा पहिलोपटक नेपाली कलाकारको तस्वीर दुरुपयोग भएको हो ।
उक्त पोस्टरमा ठगहरुले स्पोन्सर भनेर दूरसञ्चार कम्पनी नेपाल टेलिकम, यूटीएल, एनसेल र नेपालको सरकारी लोगो तथा राष्ट्रिय झण्डा समेत दुरुपयोग गरेको छ ।
यसअघि क्रिप्टोकरेन्सीको विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको तस्वीर प्रयोग भएपछि प्रहरीले अनुसन्धान पनि गरेको थियो । यसपटक भने लक्की ड्रको ठगी प्रचारमा राजेश हमालको पनि तस्वीर प्रयोग भएको छ ।
प्रतिक्रिया 4