
२२ असार, काठमाडौं । धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) ले दुई वर्षमा ३० गुणाले पूँजी वृद्धि गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डले तयार गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन मस्यौदा धितोपत्र बजार र व्यवसायी दुवैको हितमा नभएको बताएका छन् ।
धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन नेपाल ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट दुई वर्षमा ३० गुाणाले पूँजी बढाउने नीति न्यायोचित नभएको बताउँछन् ।
‘एकपटक दुई वर्षमा ३० गुणाले पूँजी बढाउने कुरा व्यवहारिक छ, कि छैन भनेर हामी छलफलमा छौं,’ उनले भने । पूँजी बढाउनुको व्यहारिक पक्ष पनि हेर्नुपर्ने भन्दै एकैपटक ३० गुणाले पूँजी वृद्धि न्यायोचित नभएको उनको भनाइ छ ।
अर्का दलाल व्यवसायी नरेन्द्र सिंजापति पनि पूँजी वृद्धि गर्दा नै विरोध गर्नुपर्ने विषय नभए पनि कुन उदेश्यसहित उक्त व्यवस्था गर्न लागियो भन्ने कुरा महत्वपूर्ण हुने बताउँछन् ।
‘बोर्डले प्रस्ताव गरेको पूँजी सीमित समूहलाई मात्रै दलाल व्यवसायीको काम गर्ने वातावरण तयार गर्छ, यसले दलाल व्यवसायीको संख्यालाई सीमित गरेर झनै ‘सिन्डिकेट’ सिर्जना हुन्छ,’ उनले भने ।
नेपाल भन्दा विकसित र भारत लगायत अन्य ठूला देशका धितोपत्र बजारमा पनि बोर्डले प्रस्ताव गरेअनुसार पूँजी नरहेको भन्दै नेपालको बजारमा प्रस्तावित पूँजी अधिक हुने उनको तर्क छ । एउटा लगानीकर्तालाई विस्थापित गरेर अर्कोलाई ल्याउने उदेश्यसहित उक्त व्यवस्था गर्न लागिएको आरोप लगाउँदै यसले दीर्घकालीन रुपमा ठूलो मूल्य चुकाउनु पर्ने उनले बताए ।
‘प्रस्तावित व्यवस्था धितोपत्र बजारको हितमा छैन, के कारणले पूँजी बढाउन लागियो, २२५ वटा सूचीकृत संस्था भएको र अहिलेको पूँजीकरणमा यति धेरै पूँजी दलाल व्यवसायीका लागि आवशयक छ त ?’ उनि प्रश्न गर्छन् ।
नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन मस्यौदा स्वीकृत अर्थमन्त्रालयमा पठाएको छ ।
नियमावलीको संशोधित मस्यौदामा धितोपत्र दलाल व्यवसायीलाई तीन तहमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । बोर्डले दलाल सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी तीन तहमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ । साथै सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव गरेको छ ।
यस्तै हाल सञ्चालनमा रहेका दलाल व्यवसायीले दुई वर्ष भित्रमा तोकिएको पूँजी कायम गर्नुपर्ने संशोधित मस्यौदामा उल्लेख छ ।
प्रतिक्रिया 4