
२२ असार, काठमाडौं । पिउने पानी उत्पादन र वितरण गर्ने ललितपुरको एक उद्योगलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण पानी उद्योगले उत्पादन गरेको पिउने पानी ल्याब परीक्षणका क्रममा न्यून गुणस्तरको रहेको पाइएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले जानकारी दिए ।
१० असारमा लिइएको नमुनाको परीक्षण पछिको नतिजामा १६ असारमा पाइए पछि विभागले कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । पानी उद्योगमा शिलबन्दी गरेर थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
यस्तै विभागले १ असारदेखि बढाएको बजार अनुगमनका क्रममा कारबाही र राजश्व संकलन पनि बढेको उनले बताए । विभागकाअनुसार २० दिनमा ८७ फर्मलाई कारबाही गरिएको छ । जसबाट २५ लाख ७५ हजार रुपैयाँ जरिवानावापतको राजस्व संकलन भएको छ । विभागले यस अवधिमा २७८ फर्मको अनुगमन गरेको थियो ।
विभागले चालु आर्थिक वर्षको २० असारसम्म ३ हजार ३४ व्यापारिक फर्म अनुगमन गरेर १ हजार ३०१ फर्मलाई जरिवाना गराइसकेको छ । यसरी जरिवान गरेवापतको राजस्व १ करोड ७७ लाख ८१ हजार रुपैयाँ संकलन भएको पनि विभागका प्रवक्ता एवं सूचना अधिकारी हरि पंगेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4