
२२ असार, पोखरा । पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले पोखरा उपत्यका नगर विकास समितिको ६३ रोपनी जग्गा कानुन अनुसार नै ठेक्का लगाएको बताएका छन् ।
कार्यकाल सकिनु दुई दिनअघि राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको र यातायात कार्यालय नजिकैको जग्गा गरी ६३ रोपनी नियम विपरीत ठेक्का लगाएको आरोप लागेका बेला जिसीले बुधबार विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।
‘पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा निवर्तमान मेयर तथा नगर विकास समितिका अध्यक्ष जिसीले आफू जनप्रतिनिधिका रुपमा आउनुअघि ठाडो तोक आदेशमा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गरेकोसमेत दाबी गरेका छन् ।
जग्गा भाडामा लगाउँदा प्रचलित कानुनको अधिनमा रही प्रतिस्पर्धाका आधारमा जसले बढी भाडा दिन कबुल गर्छ उसैलाई सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको उनको विज्ञप्तिमा उल्लेख छ ।
‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो ?’ विज्ञप्तिमा भनिएको छ, ‘सो को अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु ।’
‘छानबिन होस्, कानुनविपरीत भए खारेज होस्’
३ ठाउँको ६३ रोपनी जग्गा ज्वाइँको कम्पनीलाई १० देखि २५ वर्षसम्मका लागि सस्तो मूल्यमा भाडामा दिएपछि उनी विवादमा तानिएका हुन् । उनले ठेक्का सम्झौतामा हस्ताक्षर गरेको दिन समिति परिसरमा स्थानीय निर्वाचनको मतगणना भइरहेकाले कार्यालय बन्द थियो ।
तर जिसीले भने जिसीले जग्गाको प्रचलित मूल्यअनुसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै विधिसम्मतः भाडामा लगाएको समेत उल्लेख गरेका छन् । उनले जग्गा भाडा प्रक्रियाको छानबिन गर्न र कानुन विपरीत भए खारेज गर्ने वर्तमान नेतृत्व रहेको बताएका छन् ।
संस्थालाई हानी र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही तरिकाले भाडामा लगाउने आफ्नो मनसाय नभएको दाबी गर्दै भनेका छन्, ‘जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटि देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै जिसीले निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता गर्दछु ।’
पोखरा गल्फ कोर्सको ४० रोपनी जग्गा एक्सन बिल्डर्स प्रालिलाई २५ वर्ष, पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा शिलाशालिग्राम निर्माण सेवालाई १० वर्ष, राष्ट्रिय पत्रिकामा सूचना आह्वान गरेर टेन्डर खुलाउनुपर्नेमा जग्गा भाडामा दिन सार्वजनिक रुपमा उपलब्ध नहुने एक पत्रिकामा ३ प्रतिमात्रै छापेर विज्ञापन निकालिएको थियो ।
कार्यकाल सकिनुभन्दा २ दिनअघि असार ३ गते निवर्तमान मेयर मानबहादुर जिसीले गल्फ कोर्सको जग्गा मासिक २ लाख ७२ हजार रुपैयाँ भाडा तिर्ने गरी २५ वर्षका लागि ठेक्का सम्झौता गरेका थिए ।
करिब १८ रोपनी क्षेत्रफलमा रहेको पर्यटन बसपार्क १ लाख ७५ हजार रुपैयाँमा १० वर्षका लागि जिम्मा लगाइएको छ । सहरी विकास मन्त्रालयले ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको पर्यटन बसपार्क अहिलेसम्म पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण नै भइसकेको छैन ।
त्यस्तै, जिसीले सोही दिन यातायात व्यवस्था कार्यालय नजिकैको ५ रोपनी जग्गा मासिक र १ लख ३५ हजार रुपैयाँ तिर्ने गरी राइजिङ कन्ट्रक्सन प्रालिलाई जग्गा भाडामा दिने निर्णय गरेको खुलेको थियो ।
प्रतिक्रिया 4