
२४ असार, काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा सरकारले ठेकदारलाई गर्ने भुक्तानी बढेसँगै बैंकिङ प्रणालीमा निक्षेप पनि बढ्न थालेको छ । पछिल्लो केही दिन यता बैंकिङ प्रणालीमा निक्षेप निरन्तर वृद्धि भइरहेको छ । सरकारले आर्थिक वर्ष सकिनै लाग्दा पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्च बढाउँदा बैंकिङ प्रणालीमा निक्षेप पनि बढ्दै गएको हो ।
बैंकिङ प्रणालीमा १६ असारमा ५० खर्ब चार अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २२ असारमा ५० खर्ब ६१ अर्ब पुगेको छ । पछिल्लो ६ दिनमा मात्रै बैंकिङ प्रणालीको निक्षेप ५७ अर्बले वृद्धि भएको छ ।
सरकारले बजेट खर्च बढाएसँगै बैंकिङ प्रणालीको निक्षेप पनि बढ्न लागेको हो । चालु खर्च नियमित भएपनि उपभोगमा हुने खर्च आयातबाट बाहिरिंदा बैंकहरुमा निक्षेप बढ्न सकेको थिएन । तर, आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आक्रमक रुपमा कर्जा विस्तार गरेका बैंकहरुले कर्जा विस्तारको तुलनमा निक्षेप बढ्न नसक्दा चैत मसान्तमा बैंकहरुको कर्जा–निक्षेप अुनपात (सीडी) रेसियो ९९ प्रतिशतसम्म पुगेको थियो ।
जेठ अन्तिम सातासम्म पनि १५ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेकोमा २२ असारमा आउँदा ८ वटा बैंकको मात्रै सीडी रेसियो ९० प्रतिशत माथि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२२ असारमा बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो ८८.०६ प्रतिशतमा झरेको थियो । २१ असारमा ५० खर्ब ४७ अर्ब रहेको कुल निक्षेप १ दिनमा नै १४ अर्बले बढेको थियो । जसले गर्दा २१ असारमा ८८.३५ प्रतिशत रहेको सीडी रेसियोमा पनि सुधार भएको छ ।
निक्षेपमा हरेक दिन उच्च वृद्धि हुँदा कर्जा लगानी भने भने घट्दो छ । बैंकहरुले असार मसान्तमा कर्जा लगषनी रोकरे असुली (रिकभरी) प्राथमीकतामा राख्नेदा कर्जा भने घटिरहेको छ । २१ असारमा ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी २२ असारमा घटेर ४७ खर्ब ३ अर्बमा झरेको छ ।
चार दिनमै १४ अर्बले बढ्यो पूँजीगत खर्च
आर्थिक वर्ष सकिन एक साता मात्रै बाँकी छँदा सरकारले ठेकेदारको भुक्तानी तीव्र बनाएसँगै पूँजीगत खर्च बढ्न लागेको छ । पूँजीगत खर्च पछिल्लो चार दिनमा १४ अर्बले बढेको महालेखा नियन्त्रकका कार्यालेको तथ्यांकले देखाउँछ । १९ असारमा १ खर्ब ५५ अर्ब रहेको पूँजीगत खर्च २३ असारमा १ खर्ब ६९ अर्ब पुगेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फको खर्च पनि बढ्दै गएको छ । पछिल्लो चार दिनमा वित्तीय व्यवस्थातर्फ खर्च ८ अर्बले बढेको छ । १९ असारमा ९१ अर्ब रहेकोमा असार २३ गते बढेर ९९ अर्ब पुगेको छ ।
वित्तीय व्यवस्था र र पूँजीगत खर्चमा वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि बढिरहेको छ । बैंकमा हरेक दिन नयाँ निक्षेप आइरहेको बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।
पूँजीगत मात्रै नभएर चालु खर्च पनि तीव्र रुपमा बढिरहेकको छ । पछिल्लो चार दिनमा चालु खर्च ३१ अर्बले बढेको छ । १९ असारमा ८ खर्ब ९७ अर्ब रहेको चालु खर्च २३ असारमा बढेर ९२८ अर्ब पुगेको महालेखा परिक्षककको कार्यालयाले जनाएको छ ।
ऋणपत्रलाई निक्षेप गणना नगर्दा समस्या
ऋणपत्र र स्थानीयत तहको सञ्चित कोषमा रहको रकम १ साउनदेखि बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउँदैनन् । यस्तै असार मसान्तमा आयकरको तेस्रो किस्ता भुक्तानी गर्दा निक्षेप बाहिरिने हुँदा असार मसान्तमा सीडी रेसियो तोकिएको सीमा कायम भएपनि साउनबाटै सीडी रेसियो कार्यान्वयनमा जाँदा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको बैंकर्सहरु बताउँछन् ।
बिहीबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि राष्ट्र बैंकको निर्देशन कार्यान्वयन हुँदा साउनबाटै बैंकहरुले कर्जा दिन नसक्ने अवस्था हुने भएकोले सीडी रेसियो ९५ प्रतिशत कायम गर्न माग गरेको छ ।
हाल बैंकहरुको १ खर्ब भन्दा बढी ऋणपत्र जारी गरिसकेको छन् । राष्ट्र बैंकले विगतमा जारी गरेको ऋणपत्र पूँजीकोषको रुपमा गणना गर्ने अथवा स्रोतको रुपमा गणना गर्ने घोषणा गर्ने छुट बैंकहरुलाई दिएको छ । तर, अधिकाम्स बैंकको पूँजी कोष पर्याप्त नहुँदा ऋणत्रको ठूलो अंश पूँजी कोषमा नै गणना हुने अवस्था छ । अर्कोतर्फ स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकमा निक्षेपमा गणातना गरिरहेको बैंकहरुले साउन १ गतेबाट भने ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न सक्छन् । यसरी बैंकहरुमा स्रोतमा हुने कटौतिले गर्दा बैंकहरुलाई अहिले सीडी रेसियो सहज देखिए पनि १ साउनदेखि नै समस्या हुनसक्ने बैंकर्सहरु बताउँछन् ।
प्रतिक्रिया 4