
२४ असार, काठमाडौं । नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण-२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर बीचमा कोभिड-१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ ।
कुन क्षेत्रमा कति उद्योग ?
१. खानी तथा उत्खनन क्षेत्रमा : ३५६
२. विद्दुत्, ग्याँस बाफ तथा वातानुकूलित सेवा : ९९४
३. औद्योगिक उत्पादन क्षेत्र : ५६,६११
४. पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा : २,२२४
सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा ४,९१,२२७ जना व्यक्तिहरु संलग्न रहेका छन् । जसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ६ हजार ४८५, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६४, विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा क्षेत्रमा १८ हजार १८५ जना व्यक्तिहरु संलग्न रहेका छन् । रोजगारमा संलग्न व्यक्तिहरुको संख्या भने ३ लाख ८१ हजार ६८७ जना रहेका छन् । औद्योगिक क्षेत्रले कामदारलाई वर्षमा तलब वापत १०७.८९ अर्ब दिने गरेको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण ६३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका थिए भने ६० प्रतिशत कामदारले अस्थायी र १७ प्रतिशत कामदारले स्थायी रुपमा जागिर गुमाएका थिए ।
प्रतिक्रिया 4